६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

पिपरा अस्पतालका डा. क्षेत्रीको विदाई, अध्ययनका लागि रसिया



हरि अधिकारी, मायादेवी अनलाइन ।

वाणगङ्गा नगरपालिकाको पिपरा अस्पतालमा कार्यरत डा. गणेश क्षेत्री विदाई हुनुभएको छ । उहाँले आफनो १५ महिने कार्यकालमा अस्पतालको सेवा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । यस अवधीमा अस्पताललाई लुम्बिनी प्रदेशका प्राथमिक अस्पतालहरु मध्ये सर्वोत्कृष्ट बनाउने लक्ष्य पुरा गर्दै उहाँले उल्लेखनीय योगदान पुरयाउनु भएको छ । उक्त अवधिमा उहाँले अस्पतालको सुधार र सेवा विस्तारमा उल्लेखनीय जिम्मेवारी पुरा गरेको मायादेवी अनलाइनलाई बताउनुभयो । डा. क्षेत्री सहितको नेतृत्वमा पिपरा अस्पतालले उल्लेखनीय सुधार गर्दै लुम्बिनी प्रदेशमा प्राथमिक अस्पतालको स्वास्थ्य सेवामा उदाहरणीय काम गरेको हाे।

वाणगङ्गा नगरपालिकाद्वारा संचालित पिपरा अस्पतालमा मेजर अप्रेशन सेवा, पोष्टमोर्टम सेवा सुरुवात, चौबीसै घण्टा फार्मेसी सेवा र नयाँ बहिरंग भवनको सुरुवात गरि सेवा विस्तारको महत्त्वपूर्ण कदमहरु चाल्नुभएको थियो। यिनै सेवाहरुको माध्यमबाट अस्पताललाई लुम्बिनी प्रदेशमा एम एस एस प्रणाली अन्तर्गत सर्वोत्कृष्ट प्राथमिक अस्पताल बनाउने उद्देश्य सफल भएको हो । उहाँले आफ्नो कार्यकालमा सम्पूर्ण सहकर्मीहरु, अस्पताल कर्मचारीहरु, वाणगङ्गा नगरपालिकाका पदाधिकारीहरु, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखाका प्रमुख, पत्रकार तथा यस क्षेत्रमा काम गर्ने अन्य संघ सस्थाहरुको साथ र सहयोगलाई विशेष महत्व दिएर कृतज्ञता व्यक्त गर्नुभएको छ। साथै, काम गर्ने क्रममा कुनै भूलचुक भएका भए नियतवश नभएको उल्लेख गर्दै सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा फेरि सेवा दिने विश्वास व्यक्त गर्नु भएको छ।

नगर प्रमुख चक्रपाणी अर्यालले स्वास्थ्य सेवामा सहज बनाउन अस्पतालको सेवा विस्तार र गुणस्तरीय सेवामा महत्वपूर्ण योगदान पुरयाएकोमा डा. गणेश क्षेत्री सहित सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गर्नुभयो । अध्ययनका शिलशिलामा अस्पताल छोड्रनु पर्ने भएकाले आगामी दिनमा अझ विशेषज्ञ सेवाका लागि सदैव सहयोगको अपेक्षा गर्दै प्रमुख अर्यालले नगरको अस्पतालले नगरवासी सहित छिमेकी पालिकाहरुलाई समेत सेवा दिइ राखेकोले सेवा विस्तारलाई निरन्तरता दिन आफु लागिरहेको समेत बताउनुभयो ।

डा.क्षेत्री ३ वर्षका लागि प्रसुती रोग विशेषज्ञ अध्ययनका लागि रसिया जान लाग्नु भएको हो । यस अघि कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत रहदा उहाँले अस्पतालको सेवा विस्तारमा यस्तै महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको थियो । डा. किशोर बन्जाडे र डा. गणेश क्षेत्री सहितको चिकित्सको टिमले कपिलवस्तु अस्पतालको सेवा प्रदेशमै उत्कृष्ट बनाएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०८१ सोमबार ००:००  १ : ०४ बजे