७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आन्दोलनका लागि तयार रहन जनमतको निर्देशन



काठमाडौं ।

जनमत पार्टीले आन्दोलनका लागि तयार रहन नेता—कार्यकर्तालाई निर्देशन दिएको छ।

पार्टी सचिवालयको आइतबार बसेको बैठकले देशको अवस्था विषम बन्दै गएको भन्दै आन्दोलनका लागि तयार रहन भनेको हो।

बैठकले मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनको लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरेको छ।

समितिमा निर्वाचन हुने वडा र पालिकाको केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, पालिका अध्यक्ष, पालिका पूर्वअध्यक्ष, वडा अध्यक्ष र पूर्वअध्यक्षहरू निर्वाचन समितिमा रहनेछन्।

निर्वाचन परिचालन समितिले कात्तिक १४ गतेसम्म उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रीय सचिवालयमा पठाउने निर्णय पनि गरेको जनमतले जनाएको छ।

गैरआवासीय मधेसी संघको सदस्यता निश्चित गर्न, सदस्यता शुल्क र लेवी नियमित गर्न, अधिवेशनका लागि मतदाता सूची तय गर्नका लागि संगठन विभागलाई जिम्मेवारी दिइएको जनमतले बताएको छ।

त्यस्तै गैरआवासीय मधेसी संघ मातहतका प्रायः देशका समितिहरूमा विवाद रहेकोले सम्पूर्ण समितिहरू भंग गरी तत्कालका लागि हरेक देशका लागि इन्चार्ज तोक्ने निर्णय पनि जनमतले गरेको छ।

पछि मतदाता सूची अद्यावधिक भइसकेपछि सोही सूची अनुसार, नवीकरण गरेका सदस्यहरूमध्ये, अधिवेशन गराएर समिति निर्माण गरिनेछ।

अहिलेलाई कपलेस्वर यादवलाई मलेसिया समितिको संयोजक तोकिएको छ। कासिन्द्र पासमानलाई साउदी अरब, प्रमोदकुमार ठाकुरलाई कतार, सद्दाम अंसारीलाई संयुक्त अरब इमिरेट्स र अरबिन्द साहलाई कुवेतको इन्चार्ज तोकिएको छ।

अनील यादवलाई संयुक्त राज्य अमेरिका र बाँकी रहेका देशहरूको प्रवास समितिको संयोजक श्यामबाबु महतो तोकिएका छन्।

मधेस प्रदेश सरकारको कामको आवश्यक समीक्षा गरी गठबन्धनका दलहरूसँग परामर्श गरी सहजीकरण गरिने पनि जनमतले बताएको छ।

प्रदेश सरकारको ध्यान सरुवा–बढुवामा नभइ योजना कार्यान्वयनमा केन्द्रित हुनुपर्ने गरी सुझाव दिइने र जोसुकैले पनि सरुवा, नियुक्ति, सिफारिससहितको अनुरोध प्रदेश सरकार तथा मन्त्रीहरूलाई गर्ने निर्णय गरिएको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८१ सोमबार ००:००  ९ : ०४ बजे