१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै



काठमाण्डौ ।

सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । कास्की प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागेको हो ।

लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अस्ति शुक्रवार बेलुकी काठमाण्डौबाट पक्राउ गरेर राति पोखरा लगेको थियो । पोखरामा रहेको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा अदालतले पूर्वगृहमन्त्री लामिछानेसहित १४ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । लामिछानेमाथि सूर्यदर्शनलगायतका सहकारी ठगीको आरोप छ ।

लमिछानेलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिश गरेको थियो । लामिछानेले गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत मिडियामा लगेर अपचलन गरेको आरोप छ । गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष रहेको पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा र काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको कम्तीमा ६५ करोड ५४ लाख रुपैयाँ बचत रकम राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा ल्याइएको र त्यसको धेरैजसो रकम लामिछानेले आफैँले चेक काटेर खर्च गरेको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ ।

यसैबीच लामिछानेविरुद्ध परेको सहकारी ठगी र सङ्गठित अपराध मुद्दा प्रभावित बनाउन रास्वपा कार्यकर्ता आन्दोलनमा लागेको भन्दै सहकारी पीडितले पनि आन्दोलन घोषणा गरेका छन् । उनीहरूले पीडकको पक्षमा नभई पीडितको पक्षमा साथ दिन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८१ आइतबार ००:००  १० : ०१ बजे