६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

भलवाड सामुदायिक सिकाइ केन्द्रको अध्यक्षमा कुँवर



बाबुराम रायमाझी, भलवाड ।

भलवाड सामुदायिक सिकाइ केन्द्रको अध्यक्षमा दिपक कुँवर चयन भएका छन् । वाणगंगा नगरपालिका ९ मा अवस्थित भलवाड सामुदायिक सिकाइ केन्द्रको १२औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले कुवँरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

सो अवसरमा केन्द्रको वार्षिक प्रगति प्रतिवेदन सामुदायिक परिचालिका गीता भुसाल अधिकारीले प्रस्तुत गरिन्। कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष कमल पौडेलले सामुदायिक सिकाइ केन्द्रले प्रदान गर्ने सीपमूलक तालिमहरूले स्थानीय समुदायको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा वडा कार्यालयबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा सरेपानी सामुदायिक वन पडरियाका अध्यक्ष बिन्द्र बहादुर गुरुङले सामुदायिक सिकाइ केन्द्रसँग वनको सहकार्य र समन्वयलाई अझ प्रगाढ बनाउँदै अघि बढ्ने बताउनुभयो। साथै, कार्यक्रममा स्वास्थ्य संयमसेविका मञ्जु भुसाल र पत्रकार बाबुराम रायमाझीले साधारणसभाको सफलताका लागि शुभकामना व्यक्त गरे।

अधिवेशनले आगामी चार वर्षका लागि कुँवरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। कार्यसमितिमा नेत्र प्रसाद खनाल उपाध्यक्ष, वडा अध्यक्ष कमल पौडेल पदेन सदस्य, गीता भुसाल अधिकारी सदस्य सचिव र अन्य सदस्यहरूमा अनिता कडेल, पुनम घिमिरे न्यौपाने, र धनकला भुसाल रहेका छन्।

साधारणसभामा, केन्द्रको स्थापना कालदेखि निरन्तर १३ वर्ष ६ महिना अध्यक्ष पदमा रहेर सेवा पुर्याएकी निम कुमारी थापालाई विशेष सम्मान गरिएको थियो। प्रमुख अतिथि वडा अध्यक्ष पौडेलले थापालाई दोसल्ला ओढाएर सम्मानित गरे। सम्मान ग्रहण गर्दै थापाले सहभागी सबैलाई धन्यवाद व्यक्त गरिन्। सामुदायिक सिकाइ केन्द्रले आफ्नो सामुदायिक सेवा र विकास कार्यलाई निरन्तरता दिने प्रतिबद्धता गर्दै साधारणसभा र अधिवेशन सफलतापूर्वक सम्पन्न भएको हो ।

प्रकाशित मिति : ३ कार्तिक २०८१ शनिबार ००:००  ८ : ०१ बजे