७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

गोरखाको चुमनुव्रीमा लाखौं मूल्यका स्याउ कुहिने अवस्थामा



भक्तपुर ।

गोरखाको चुमनुव्री गाउँपालिकामा ३० हजार बोटमा फलेका लाखौं मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ ल्याइदिन माग गरेका छन् ।

उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन सरकारसँग माग गर्नुभयो । कृषि र पर्यटनको सम्भावना रहेको गोरखाको चुमनुव्री गाउँपालिकामा करोडौंको स्याउ बाटो नहुँदा बजारसम्म ल्याउन नसकेर कुहिने अवस्थामा पुगेकोप्रति सरकारको ध्यानाकर्षण हुनुपर्ने उहाँको भनाइ छ ।

गएको महाअष्टमीको दिनमा महाअभियानले हेलिकप्टरबाट चार सय ५० किलो स्याउ काठमाण्डौ ल्याउँदा प्रतिकेजी ६ सय ६६ रुपैयाँ पर्न गएको भन्दै सरकारले ती स्याउ नल्याए किसानको करोडौंको स्याउ कुहिने अध्यक्ष पण्डितले बताउनुभयो ।

चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भौगोलिक दृष्टिकोणले विकट रहेको हिमालपारिको गाउँ चुमनुव्रीमा स्याउका ३० हजार बिरुवाको खेती रहेकोमा यातायातको सुविधा नहुँदा करोडौंको स्याउ बिग्रने अवस्थामा पुगेको बताउनुभयो । गएको वर्षको तुलनामा झन्डै दोब्बर स्याउ उत्पादन भए पनि बजारमा पुर्‍याउन नसक्दा किसान निराश छन् ।
रासस

प्रकाशित मिति : ३ कार्तिक २०८१ शनिबार ००:००  १२ : १८ बजे