६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

२ महिनामै बुटवलमा कर्णालीको ५ करोडको स्याउ बिक्री



बुटवल ।

बुटवलमा दुई महिनामै कर्णाली प्रदेशका जुम्लासहित विभिन्न जिल्लामा उत्पादन भएको स्याउमध्ये करिब पाँच लाख केजी (५०० टन) स्याउ बिक्री भएको छ ।

कर्णालीको जुम्ला, कालीकोट, डोल्पा, मुगु , हुम्लालगायत जिल्लामा उत्पादन भएको अर्गानिक स्याउ भदौदेखि असोजसम्म सुर्खेत हुँदै बुटवल भित्रिने गर्छ ।

दुई महिनाको अवधिमै पाँच लाख केजी स्याउ बिक्र‍ी हुँदा पाँच करोड रुपैयाँको बराबरको कारोबार भएको १४ वर्षदेखि जुम्लाको स्याउ बिक्री गर्दै आएका बुटवलको आशिक फ्रुट सेन्टरका सञ्चालक कलाधर पन्थीले बताए ।

बुटवलमा आधा दर्जन व्यवसायीले कर्णालीको स्याउ बेच्ने गरेका पन्थीले बताए । ‘कर्णालीको स्याउ गत वर्षभन्दा दोब्बर बढी बिक्री भयो,’ पन्थीले भने, ‘आफ्नै देशको उत्पादन, मूल्य पनि सस्तो, गुणस्तर र स्वाद पनि राम्रो भएकाले उपभोक्ताले स्वदेशी स्याउलाई माया गरेका छन् ।’

यो सिजनमा मात्रै पन्थीले ५५ लाखको कर्णालीको स्याउ बेचेको बताए । स्वदेशी स्याउको उत्पादन र खपत बढ्दै जाँदा भारतीय र चीनबाट आयात हुने स्याको बिक्री ह्वात्तै घटेको पन्थी बताउँछन् ।

‘नेपाली उपभोक्तामा पाएसम्म आफ्नै देशको स्याउ खानुपर्छ भन्ने राष्ट्रियताको भावनाको विकास भएको छ, यो ज्यादै राम्रो हो,’पन्थीले भने, ‘स्वदेशी स्याउ सहजै उपलब्ध भएपछि भारतीय र चिनियाँ स्याउको माग र खपत दुवै घटेको छ ।’

कर्णालीको स्याउको पहिलो ठूलो बजार सुर्खेत र दोस्रो बुटवल भएको सुर्खेतमा रहेका कर्णालीको स्याउको थोक व्यापारी प्रबल शाहीले बताए ।

कर्णालीमा उत्पादन हुने स्याउलाई बजारको समस्या नभएको तर बजार व्यवस्थापनमा सरकारको चासो र ध्यान नगएको शाहीले गुनासो गरे ।

शाहीका अनुसार जुम्लाको चार हजार १२० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदा १८ हजार मेट्रिक टन स्याउ फलेको अनुमान छ । उत्पादन भएकोमध्ये आधा हिस्सा कम्तीमा ५५ रुपैयाँका दरले जिल्ला बाहिर निर्यात हुँदा जुम्लालाई करिब ५० करोड आम्दानी भएको उनले बताए ।

सरकारले स्याउ खेतीलाई प्राथमिकतामा राखेर प्रोत्साहनमूलक नीति र कार्यक्रम लागू गरी सिंगो कर्णाली प्रदेश, सुदूरपश्चिमका केही र गण्डकीको मुस्ताङसहितका केही जिल्लालाई ‘स्याउ हब’ बनाउने हो भने अहिलेको उत्पादन दोब्बर गरी सिंगो देशलाई ६ महिनासम्म पुग्ने स्याउ नेपालमै उत्पादन गर्न सकिने शाही बताउंछन् ।

‘अहिलेको उत्पादनले नेपाली बजारलाई तीन महिनालाई मात्र धानेको छ, सरकारले प्रोत्साहन गर्ने हो भने अहिलेको दोब्बर क्षेत्रफलमा स्याउ खेती गरी उत्पादन पनि दोब्बर लिन सकिन्छ,’ शाहीले भने, ‘उत्पादन बढाई चिस्यान केन्द्रमा राख्ने हो भने नेपालको कूल स्याउ बजारको ६ महिनालाई नेपाली उत्पादनले धान्ने सम्भावना र अवसर छ ।’

अहिलेसम्म किसान र केही व्यवसायीले आफ्नो हिसाबले स्याउ खेती गरिरहेका तर सरकारको ठोस भूमिका नभएको शाहीले औंल्याए ।

भारतीय स्याउ प्रतिकिलो २५० रुपैयाँ र चीनको स्याउ प्रतिकिलो २ सय रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको बेला कर्णालीको अर्गानिक स्याउ प्रतिकिलो डेढ सय देदखि २ सय रुपैंयाँ भन्दा कममा पाइन थालेपछि अरू स्याउको विक्री बन्द भएको व्यवसायी शाहीले बताए ।

दुई वर्षदेखि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कर्णालीका विभिन्न जिल्लामा १० हजार बिरुवा पुर्‍याउने लक्ष्यसहित सामूहिक स्याउ खेती गर्न थालेपछि उत्पादन वृद्धि हुने आशा पलाएको शाहीले बताए ।

जुम्ला वा मुस्ताङ सहित उत्पादन हुने ठाउँमा स्याउको उत्पादन बढाउने हो भने फलफूल व्यवसायीले स्वदेशी स्याउलाई प्राथमिकता दिएर बिक्री वितरण गर्ने र यसबाट आयात प्रतिस्थापन तथा ब्यापार घाटा कम गर्न योगदान पुग्ने बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए । ‘माग र खपतभन्दा बढी उत्पादन भएको अवस्थामा स्याउलाई भण्डारण गरी पछि बिक्री गर्न सकिने वातावरण बनाउन सरकारले ठाउँ ठाउँमा स्तरीय शीत भण्डारणहर स्थापना गरी किसान र व्यवसायीलाई प्रोत्साहन गर्न आवश्यक छ,’ अर्यालले भने, ‘रुपन्देहीमा अन्तर्राष्ट्रिय विमानस्थल समेत रहेकाले कर्णालीको अर्गानिक स्याउ विदेश निर्यात गर्न पनि सकिन्छ ।’ –अनलाइनखबरबाट

प्रकाशित मिति : ३ कार्तिक २०८१ शनिबार ००:००  ११ : २४ बजे