७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सभापति रवि लामिछाने पक्राउ परेपछि ठाउँठाउँमा प्रदर्शन



काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला अधिवेशन तत्कालका लागि स्थगित गरेको छ । पार्टी सभापति रवि लामिछाने सहकारीको रकम ठगीमा पक्राउ परेपछि रास्वपाले सूचना निकालेर अधिवेशन स्थगित गरेको जानकारी गराएको हो ।

गएको बिहीवारदेखि रास्वपाले जिल्ला भेला शुरू गरेको थियो । रास्वपाले विकसित राजनीतिक घटनाक्रमका कारण भन्दै जिल्ला अधिवेशन स्थगित गर्न र पार्टी सभापति पक्राउको विरोध गर्न जिल्ला सदरमुकाम केन्द्रित कार्यक्रम गर्न निर्देशन दिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले निकाल्नुभएको सूचनामा उल्लेख छ ।

यसैबीच सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा रास्वपाले पोखरा, काठमाण्डौलगायत देशका विभिन्न ठाउँमा प्रदर्शन गरेको छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अनधिकृतरूपमा गोर्खा मिडिया नेटवर्कमा ल्याएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरेपछि रवि शुक्रवार काठमाण्डौबाट पक्राउ परेका हुन् ।

अहिले कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आज सार्वजनिक बिदा रहेकोले भोलि मात्र अदालतमा उपस्थित गराउने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१ शनिबार ००:००  ११ : १५ बजे