२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मिथिलाञ्चलमा भव्‍य रूपमा मनाइँदै छ कोजाग्रत पूर्णिमा



काठमाडौं ।

मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा भव्य रुपमा मनाइँदै छ। कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रत्येक वर्षजस्तै यस वर्षपनि महोत्तरीको रतौलीबाट १ सय १ पाहुर जानकी मन्दिरमा ल्याइएको छ।

महोत्तरीको रतौलीका स्व। महेन्द्रप्रसाद ठाकुरको घरबाट मन्दिरमा ल्याइएको पाहुरबाटै भगवान सीतारामको चुमाओन गर्ने परम्परा रहेको छ। पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल तरकारी, भगवान राम र माता जानकीको कपड़ा ल्याइएको छ।

रतौलीबाट जानकी मन्दिरमा पाहुर ल्याउने परम्परा १ सय ४१ वर्षदेखि चल्दै आइरहेको छ। यो परम्परालाई टुट्न नदिने प्रतिवद्धता स्थानीय नविन ठाकुरले व्यक्त गरे।

कोजाग्रत पूर्णिमालाई भव्य बनाउनका लागि जानकी मन्दिरमा भजन कीर्तनको आयोजना गर्ने गरिन्छ। प्रत्येक वर्ष उत्सवको बेला हास्यपरिहासको कार्यक्रमको आयोजनासमेत हुने गरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए।

यसअघि गतराति मिथिलाञ्चलको घर घरमा कोजाग्रत पर्व मनाइएको थियो। मिथिलाञ्चलको घरघरमा तथा जानकी मन्दिरमा एकै दिन कोजाग्रत पर्व मनाउने परम्परा रहे पनि यस वर्ष उदयकालमा आज पूर्णिमा परेकाले जानकी मन्दिरमा कोजाग्रत पर्व आज मनाइएको हो।

प्रकाशित मिति : १ कार्तिक २०८१ बिहिबार ००:००  १२ : १५ बजे