२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

बैरियाको भगवती मन्दिरमा सराय नाचको भब्य तयारी पूरा, सहभागीताका लागि आग्रह



वाणगंगा, मायादेवी अनलाइन ।

कपिलवस्तुको वाणगंगा १ बैरियामा अवस्थित श्री नवदुर्गा भगवती मन्दिरमा यस वर्षको पुर्णिमा सराय नाचको तयारी पूरा भएको छ। मन्दिर व्यवस्थापन समिति र बैरिया युवा समाजको सहकार्यमा भोलि पुर्णिमाका दिन हुने सराय नाचको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोजकहरूले यस कार्यक्रमलाई विगतका तुलनामा अझै ठूलो र व्यवस्थित बनाउने योजना रहेको बताएका छन्।

दशैंको घटस्थापनादेखि नै श्री नवदुर्गा भगवती मन्दिरमा दैनिक पूजा, आराधना र भजन कीर्तन भव्य रूपमा सञ्चालन हुँदै आएको छ। फुलपातीको दिन विशेष पूजा गरेर विधिपूर्वक भित्र्याइको फूलपाती त्यसपछि दुर्गा भगवतीको प्रतिमा विसर्जन गरिने बताइएको छ।

बैरियामा हरेक वर्ष सराय नाचको आयोजना गरिँदै आएको भएपनि यस वर्षको सराय नाचलाई ऐतिहासिक र उत्कृष्ट बनाउने उद्देश्य रहेको समाजसेवी राजु पन्तले जानकारी गराए। उनले यस पटकको सराय नाचलाई विगतभन्दा व्यापक र व्यवस्थित बनाउन विशेष कार्यक्रमहरूको आयोजना गरिएको बताउदै सवैलाई आ आफनो ठाँउबाट सहयोग गर्न आग्रह गरे ।

बैरिया युवा समाजले नवरात्रभर स्थानीय गाउँ टोलहरूमा पुगेर आफ्नो संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले सराय नाचको निम्तो र प्रचार प्रसार गरेको थियो। समाजका अध्यक्ष विष्णु घिमिरेले बैरियामा हुने सराय नाचमा सबै स्थानीय वासिन्दा, दर्शक र भक्तजनहरूलाई सहभागी हुन आग्रह गरेका छन्। साथै, मन्दिरमा आर्थिक सहयोग तथा अन्य महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको उनले जानकारी दिए। यस ऐतिहासिक र सांस्कृतिक कार्यक्रममा सामूहिक सहभागिता जनाई परम्परा संरक्षण गर्न सबैमा अपिल गरिएको छ।

यसवर्ष बैरिया मन्दिर परिसर र बाहिरी गेट विशेष आकर्षणको रुपमा सजाइएको थियो भने दिनहु सन्ध्याकालिन भजन कृतनको उत्साहपूर्ण कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाली सनातन समाजमा विजयादशमीदेखि शुरु भएको टीका जमरा लगाउने क्रम पूर्णिमाकै दिन सकिन्छ। कोजाग्रत पूर्णिमाका दिन बिहान जमरा विसर्जन गर्ने परम्परा पनि छ। तर यो वर्ष दिनभर पूर्णिमा तिथि रहेकाले बिहीबार पनि टीका लगाउन सकिने बताइएको छ।

प्रकाशित मिति : ३० आश्विन २०८१ बुधबार ००:००  १० : ०२ बजे