२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

डडेल्धुरामा रात्रिबस दुर्घटना, चारजनाको मृत्यु, १२ घाइते



डडेल्धुरा ।

डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।

दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिए।

बैतडीको पुर्चौंडी नगरपालिका ३ का ४५ वर्षीया जयमती बोहरा, अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको बस गएराति साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका ७ खस्रेखानमा दुर्घटना भएको हो। बस सडकबाट करिब साढे ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। चालक निदाएकाले बस सडकबाट पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ।

बसचालक पुर्चौँडी नगरपालिका ८ का २४ वर्षीय वीरेन्द्र बोहरा, गम्भीर घाइते भएका छन्। पुर्चौँडी ८ का ४२ वर्षीय पदमबहादुर बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी, वडा नं. १० का दामोदर महरा र धनबहादुर महरा घाइते भएका छन्।

यस्तै पुर्चौँडी नगरपालिका ७ का २४ वर्षीय नवराज साउँद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ का २५ वर्षीय दिनेश साउँद, डडेल्धुराको आलिताल गाउँपालिका १ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका ५ बस्ने ३४ वर्षीया विमला महता, कृष्णपुर नगरपालिका ५ की ६५ वर्षीया धनमती साउँद पनि घाइते भएको प्रहरी निरीक्षक बमले जानकारी दिए।

बस चालक बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको छ। अन्य घाइतेको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ।

प्रकाशित मिति : ३० आश्विन २०८१ बुधबार ००:००  ७ : १८ बजे