२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

हुलाकी राजमार्गः कालिया खोलामा पुल र आसपासको सडक कालोपत्र नहुँदा समस्या



सप्तरी ।

हुलाकी राजमार्गअन्तर्गत राजविराज–कञ्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीको कालिया खोलामा निर्माणाधीन पुल अलपत्र अवस्थामा छ । पुल अलपत्र हुँदा आवतजावतमा समस्या छ ।

लामा बागमती निर्माण सेवाले २०७१ सालमा निर्माण शुरु गरे पनि काममा ढिलासुस्ती हुँदा समस्या भइरहेको स्थानीयबासिन्दाले बताएका छन् । पुल नबन्दा खोला नै तर्नुपर्ने बाध्यता रहेको स्थानीयबासिन्दा पिन्टु यादवले गुनासो गर्नुभयो । सप्तरीको सदरमुकाम राजविराजसमेत जोड्ने पुल भएकाले हजारौँले जोखिमपूर्ण यात्रा गर्नुपरिरहेको उहाँले सुनाउनुभयो ।

यस्तै आसपास जोडिएको झन्डै दुई किलोमिटर सडकसमेत कालोपत्रे हुन सकेको छैन । बज्रगुरु निर्माण सेवा जेभीको ठेक्कामा रहेको सडक कालोपत्र नहुँदा थप समस्या भइरहेको देवनारायण यादवले गुनासो गर्नुभयो । यस्तै तिरहुत गाउँपालिका–५ बुधेवामा पुल निर्माण भए पनि त्यससँग जोडिएको एक किलोमिटर सडक कालोपत्र गर्न ढिलासुस्ती भएको छ । रासस

प्रकाशित मिति : २८ आश्विन २०८१ सोमबार ००:००  २ : २० बजे