२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

पसाउन लागेको धान सुक्न थालेपछि पाल्पाको रामपुरका किसान चिन्तित



पाल्पा ।

रामपुरमा पसाउन लागेको धान सुक्दै गएको छ । धानका पात पहेँलो हुँदै जाने र बिस्तारै बोट सुक्दै जान थालेपछि किसान चिन्तित भएका छन् । रामपुर नगरपालिका–६ की निरमाया पङ्गेनीले तीन रोपनी जग्गामा लगाएको सावित्री जातको धानमा समस्या देखिएको गुनासो गर्नुभयो ।

अघिल्लो महिना अन्तिम हप्तादेखि नै धानबालीमा समस्या देखिन शुरु भएको थियो । हर्दिनाथ जातको धानमा भने समस्या नरहेको उहाँको भनाइ छ । बोट सुक्न थालेपछि दुईपटकसम्म विषादी छरेको तर विषादीले पनि काम नगरेको किसानको गुनासो छ । अहिले धान पहेँलिएर पुरै सुकेको छ ।

धानबालीमा भुरुरर उड्ने भुसुना जस्तो किरा पातमा छपक्कै बसेर पात चुसेर खाने, अनि बोट पहेँलिँदै जाने समस्या देखिएको विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश रेग्मी बताउनुहुन्छ । सहकारीले सावित्री र हर्दिनाथ जातको झन्डै १५ हेक्टर क्षेत्रफलमा सात मेट्रिकटन बीउ उत्पादन गर्नेगरी धान लगाएको छ ।

पाल्पामा सबैभन्दा धेरै रामपुर नगरपालिकामा धानबालीमा समस्या देखिएको कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोषकुमार चौधरीले बताउनुभयो । विशेषगरी रामपुरको वडा नम्बर ५ र ६ मा धानमा रोगको समस्या बढी छ । रामपुरसँगै जिल्लाको माथागढी, तिनाउलगायत अन्य ठाउँमा प्रकोप देखिएको र उपचारपछि क्रमिक रूपमा सुधार भएको उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति : २४ आश्विन २०८१ बिहिबार ००:००  १२ : ३८ बजे