२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

बाढीले ५० लाख बराबरको केरा नोक्सान



सुनसरी ।

सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा केराखेती गरेका थिए । सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पुर्‍याएपछि उनी चिन्तित छन् ।

उनले भने, ‘आफ्नै जग्गामा प्रति बिघा आठ लाखको लागतमा केरा लगाएको थिए । दुईबिघा मध्ये १३ कट्ठा केरा खेतीमा क्षति भयो । केरा खेतीबाट छठपर्वमा सम्ममा १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्य राखेको थिए । बाढीले क्षति गरेपछि ठुलो नोक्सानीको सामना गर्नुपरेको छ ।’ उनले भारतको मदरासबाट मदरासी९चिनिचम्पा० जातका केराको बीउ ल्याएर लगाएका थिए ।

यही असोज ११ र १२ गते वर्षासँगै आएको बाढीले केराखेती कटान गरेर लानुका साथै पानी जमेकाले केरा सुक्न थालेको उनले बताए । बाढीका कारणले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लामा ५० हेक्टर क्षेत्रफल केरा खेती नष्ट भएको तथ्याङ्क प्राप्त भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए ।

बाढीले रु ५० लाख बराबरको केरा खेतीमा क्षति भएको उनले बताए । बाढीले सुनसरी सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, देवानगन्ज गाउँपालिकामा लगाएको केरा खेतीमा क्षति भएको छ ।

हावाहुरीका कारण क्षति पुगेको केराखेतीमा सरकारले क्षतिपूर्तिबापत सहयोग गर्नुपर्ने स्थानीय किसानले बताएका छन् । यस वर्ष केरा खेतीमा दैवीप्रकोपले ठुलो नोक्सानी पुर्‍याएका कारण बजारमा केरा अभाव हुनसक्ने आँकलन गरिएको छ भने मूल्य बढ्ने आँकलन गरिएको छ । सुनसरीमा पाँच सय १० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । रासस

प्रकाशित मिति : २३ आश्विन २०८१ बुधबार ००:००  २ : ५६ बजे