२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

नागरिक सुनुवाइको अभ्यासमा ईलाका प्रहरी कार्यालय पिपरा



कपिलवस्तु ।

‘प्रहरी मेरो साथी’ लगायतका जनता केन्द्रीत नारा तय गरी शान्ति, सुरक्षामा खटिने गरेको नेपाल प्रहरीले नागरिक सुनुवाइ कार्यक्रमको अभ्यास थालेको छ । नागरिकको बीचमा भएको यो कार्यक्रममा आलोचना समेत सुन्न ईलाका प्रहरी कार्यालय पिपरा तयार देखिएको छ । भर्खर सरुवा भइ यहाँ आएका प्रहरी निरीक्षक लोकेन्द्र जिसीले सोमबार यो कार्यक्रमको आयोजना गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय पिपराले मंगलबार बाणगंगा नगरपालिकाको सभाहलमा आयोजना गरेको नागरिक सुनुवाई
कार्यक्रममा बोल्ने बक्ताहरुले अपराध न्युनीकरणमा सबैको साथ आवश्यक रहेकोमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले नदिजन्य पदार्थ सबै नगरवासीको साँझा सम्पत्ति भएकाले यसको अवैध चोरीनिकासी हुन नदिन सबै सचेत हुनुपर्ने बताए ।

नगरले पटक पटक ईलाका प्रहरी कार्यालय पिपरा र नगर प्रहरीले अवैध रुपमा गिटी बालुवा चोरी गर्नेहरुलाई कारबाहीको दायरा ल्याएको बताए । जसबाट नगरले गत बर्ष मात्रै करिब ८ लाख रुपैयाँ संकलन गरेको उनले जानकारी दिए ।

नगरप्रमुख अर्यालले त्यस्तो चोरी निकासी सम्बन्धमा सुचना दिने व्यक्तिलाई नगरले पुरस्कार समेत दिने कार्यविधि बनाएको बताए । उनले नगरको न्यायिक समितिमा ४१ वटा विभिन्न उजुरी तथा मुद्धाहरु दर्ता भएको बताउँदै भने, ‘मलाई लाग्दैन् सबै प्रहरी कहाँ जानुहन्छ । न्यायिक समितिमा दर्ता भएका अधिकांश मुद्धाहरु किनारा लागेका छन् । ११ वटै वडामा मेलमिलाप कार्यालय र मेलमिलापकर्ताहरु हुनुहुन्छ ।’

उनले प्रहरीसंग नगरले विभिन्न क्षेत्रमा निरन्तर सहकार्य, समन्वय गर्दै आएको बताउँदै उनले त्यसले सकारात्मक परिणाम दिएको समेत बताए ।

ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरिक्षक लोकेन्द्र जिसीले आफुहरु आफ्नो काम, कर्तव्यबारे स्पष्ट रहेको बताउँदै समाजलाई गलत दिशातर्फ उन्मुख हुन नदिनेतर्फ सचेत रहनुपर्ने बताए ।
उनले वाणगंगा क्षेत्र लागुऔषध कारोबारको हबका रुपमा रहेकाले छोटो समयमै यसका कारोबारीलाई नियन्त्रणमा लिएर कानुनी कारबाहीको दायरमा ल्याएको बताए । उनले खुल्ला सिमानाका कारण लागुऔषधको कारोबार बढेको बताए । उनले प्रहरीमा आएका गोप्य सुचना चुहावट गर्नेमाथि विभागीय कारबाही हुदैं आएको स्मरण गराए ।

आत्महत्या र लागुऔषध कारोबारलाई न्युनीकरण गर्न समाजका हरेक व्यक्तिको साथ आवश्यक रहेको उनले बताए । विभिन्न सुचनाहरु वस्तुनिष्ठ नहुँदा कानुनी दायरामा ल्याउन समस्या देखिएको बताए ।
उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालयले गरेका कामको चर्चा गरिएको थियो भने पछिल्लो ३ बर्षमा विभिन्न घटनाको अवस्थाको बारेमा अवगत गराईएको थियो ।

प्रहरी हवलदार ईश्वरी भट्टाराईको संचलानमा सम्पन्न उक्त कार्यक्रममा बाणगंगा नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरी, नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत भक्तिराम मरासिनी, ११ वटै वडका वडाध्यक्षसहित यस क्षेत्रका उद्योगी, व्यवसायी, टोलविकास समितका पदाधिकारी, समाजसेवी, बुद्धिजीवि, लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८१ मंगलबार ००:००  ९ : ४६ बजे