२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

सुर्तिजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि संयुक्त प्रयास आवश्यक



मायादेवी अनलाइन ,जितपुर ।

संयुक्त प्रयासबाट मात्र सुर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न सकिने सरोकारवालाहरुले बताएका छन् ।
मंगलबार जितपुरमा भएको सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालमा सुर्तिजन्य पदार्थको विक्रिवितरण सम्बन्धी विभिन्न ऐन कानुन भएपनि त्यसको कार्यान्वयन हुन नसकेको बताएका हुन् ।

कार्यक्रममा सहजीकरण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निति तथा योजना महाशाखाका प्रमुख पुष्पराज पौडेलले नेपालमा पछिल्लो तथ्याङ्क अनुसार २८.९ प्रतिशत मानिस सुर्तिजन्य पदार्थ प्रयोगकर्ता रहेको जानकारी दिए। यस्तै नेपालका सात प्रदेशमध्ये लुम्बिनी प्रदेशमा सबैभन्दा बढी र मधेश प्रदेशमा कम प्रयोगकर्ता भएको तथ्याङ्क प्रस्तुत गरे ।

सुर्तीजन्य पदार्थको नियन्त्रण सम्बन्धि नितिगत दस्तावेजबारे बताउँदै उहाले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्दा यसको प्रयोगको दरमा ह्रास आएको महाशाखाका प्रमुख पौडेलले बताए । यसको नियन्त्रण सम्बन्धि रहेका ऐन, नियमावलीको कमजोर कार्यान्वयनले अपेक्षित लक्ष्य हासिल हुन नसकेको उनको भनाई छ । उहाँले अपेक्षित लक्ष्य हासिल भए दिगो विकासका लक्ष्य प्राप्त गर्न सहज हुने बताए ।

बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत भक्तिराम मरासिनीले हरेक पालिकामा आआफ्नै ऐन नियमहरु रहँदा यसको नियन्त्रणमा चुनौति देखिएको बताए। कुनै पालिकाले ब्रान्डिङ र कुनै पालिकाले निषेधित गर्ने क्रम रहेकाले समेत समस्या सिर्जना भएको उनको भनाई छ ।

कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरेले सुर्तिजन्य पदार्थको प्रयोगले आर्थिकसंगै शारीरिक, मानसिक, सामाजिक हरेक तवरले नकारात्मक असर गर्ने भएकाले सबै सचेत हुनुपर्ने बताए। यसको प्रयोगलाई नियन्त्रण गर्ने जिम्मेवारी आफुले प्राप्त गरेकाले यस सम्बन्धिका ऐन, नियमको दायरामा रहेका काम गर्ने प्रतिवद्धता जनाए ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष किरनमान बज्राचार्यले राज्यकै नितिका कारण सुर्तिजन्य पदार्थको प्रयोग बढेको बताए । राज्यको कर असुल्ने नितिकै फलस्वरुप यो अवस्था सिर्जना भएको उनको भनाई छ ।
सो कार्यक्रममा डाक्टर हेमराज पाण्डेले सुर्तीजन्य पदार्थको नियन्त्रण सम्बन्धि रहेका नितिगत र कानुनी व्यवस्था चर्चा गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश कन्सल्टेन्ट कम्युनिटि फिजिसियन डाक्टर अच्युत शर्मा न्यौपाने, स्वास्थ्य समन्वय महाशाखा हेमराज पाण्डे जिल्लाका स्वास्थ्यका प्रमुख प्रतिनिधि लगायत पत्रकारहरुको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८१ मंगलबार ००:००  ९ : १६ बजे