२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

कपिलवस्तुमा अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा संवाद कार्यक्रम



मायादेवी अनलाइन, तौलिहवा ।

कपिलवस्तुको तौलिहवामा अन्तराष्ट्रिय बालिका दिवस मनाइएको छ । किशोरी समुहको अगुवाईमा दलित सामाजिक बिकास केन्द्र, आइएम स्वीडिस डेभलमपेन्ट पार्टनर, युएमएन, केएनएच, कपिलवस्तु नगरपालिका र विभिन्न संस्थाको समन्वयमा अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर किशोरीको सवालमा आधारित सम्बाद कार्यक्रम गरिएको हो ।
पूर्व मन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा किशोरी समुह कपिलबस्तु, शिवराज र महाराजगंज नगरपालिका, यशोधरा तथा मायादेवी गाउँपालिकाका किशोरीहरुको आयोजनामा र सञ्चारिका समुह लुम्बिनी प्रदेश, किडार्क नेपाल, कालिका स्वाबलम्बन, गैर सरकारी संस्था महासंघ नेपाल कपिलबस्तु, किशोरी अधिकार मञ्च, ओरेक नेपाल, बुद्ध आवाज टेलिभिजनको समन्वयमा आयोजना गरिएको थियो। कार्यक्रमको सभाध्यक्ष किशोरी समुहहरुको प्रतिनिधित्व गर्दै लक्ष्मी हरिजनले गर्नु भएको थियो भने बिशिष्ट अतिथिमा कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल, महाराजगञ्ज नगरपालिकाका नगर उप प्रमुख रीता कुर्मि र वडा अध्यक्षहरु, गैर सरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष जीत कुमारी बेल्वासे, जिल्ला अध्यक्ष जय प्रकाश पाण्डे, दलित सामाजिक विकास केन्द्रका अध्यक्ष सुरजमती पासी, सुरक्षाकर्मी, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको सञ्चालन लक्ष्मी यादव र साधिका रैदास किशोरीले गरेका थिए ।
सहभागी किशोरीहरुले १३ बुदे ध्यानाकर्षण पत्र पुर्व मन्त्री महिला, बालबालिका तथा जेष्ठ नागरिक तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्र आचार्य, कपिलबस्तु नगरपालिका नगर प्रमुख सुदिप पौडेल र महाराजगंज नगरपालिकाको नगर उपप्रमुख रिता कुर्मीलाई हस्तान्तरण गरेका थिए ।
सरोकारवालहरु संग किशोरीका सवालहरुमा स्थानिय तह, प्रदेश र केन्द्रले के कस्तो पहल गरीरहेका छन् भनि जिज्ञासा राखेका थिए । युवाहरु सबै बैदेशिक रोजगारीमा जादैछन् उनीहरुलाई नेपालमै बस्ने बाताबरण बनाउन के योजना रहेको छ, स्थानीय तहले बाल बिवाह र दहेज प्रथा रोक्न के पहल गर्दैछ हिंसा दिनहु भैरहेको छ यो कसरी रोकिन्छ भन्ने सवालहरु सरोकारवाला बीच राखेको शक्ती परियेजनाका कार्यक्रम संयोजक धन कुमारी चौधरीले जानकारी दिनुभयो ।
मायादेवी र यशोधरा गाउँपालिकामा युएमएनले लामो समय देखि किशोरी, बालबालिका र उनीहरुको शिक्षामा काम गर्दै आइरहेको छ । किशोरीको शिक्षामा काम गर्न आवश्यकता रहेको यूएमएन कपिलवस्तुका क्लष्टर टिम लिडर रुप कुमार बिकले बताउनुभयो ।
त्यसैगरी किशोरीहरुको सर्भेमा धेरै किशोरीहरु बिद्यालय छोडेको, कपिलबस्तु नगरपालिकामा कक्षा १० सम्म निशुल्क शिक्षा लागु भएको तथ्यांक प्रस्तुतीकरण गरिएको थियो । सर्भे प्रतिबेदन अझ बिस्तृत जानकारीहरु पाए थप काम गर्नेमा जोड दिने नगर प्रमुख सुदिप पौडेल बताउनुभयो । प्रमुख अतिथि पुर्व मन्त्री प्रतिनिधि सभा सदस्य सुरेन्द्र आचार्यले मधेशका किशोरीहरु पनि निर्धक्क आफ्नो कुराहरु राख्न सकेको खुशी व्यक्त गर्दै संघसंस्थाहरुले गरेको कामले परिवर्तन आएको बताउनुभयो । किशोरीहरुबाट प्राप्त १३ बुदे माग पत्रबारे संसदमा ती सवालहरु राखेर छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सन् २०१२ देखि लैङ्गिक असमानताका कारण बालिका तथा किशोरीहरुले सामना गर्नुपरेको सवालहरुको उठान गर्दै बालिकाहरुको संरक्षण, उनीहरुको अधिकारमा पहुँच सुनिश्चिता र सर्वाङ्गिण विकासको माग सहित अन्तराष्ट्रिय बालिका दिवस विश्वभर मनाउन थालिएको हो । यस वर्षपनि ‘Girls vision for the future‘ को नारा सहित १३ औं अन्तर्राष्ट्रिय बालिका दिवस मनाइयो । यस वर्षको नाराले बालिका किशोरीहरुको सफल भविष्यका लागि उनीहरुका आवाज र दृष्टिकोणलाई समेटेर लैजानुपर्ने विषयलाई मुख्य रुपमा राखेको छ ।
किशोरीहरुले सन्देशमुलक नृत्य सहितको अभिनय, आत्मरक्षा शिप प्रदर्शन गरेका थिए । यसै अन्तर्गत किशोरीहरुले कपिलबस्तु नगरपालिकामा २५६ जना, महाराजगञ्ज नगरपालिकामा १०९ जना र यशोधरा गाउँपालिकामा २० जनाबाट १२ देखि २० बर्ष उमेर समुहका बिद्यालय छोडेको किशोरीहरु सँग एक सर्भे गरेका थिए र त्यस्को निष्कर्ष प्रस्तुतीकरण एकता किशोरकिशोरी समुहको अध्यक्ष रामरोशनी चौहानले गनुर्भएको थियो । जसमा ६ देखि ८ कक्षामा बिद्यालय छोडेको संख्या धेरै रहेको देखियो । बिद्यालय छोड्नुको मुख्य कारणमा आर्थिक समस्या ६० प्रतिशत रहेको र बालबिवाह ७ प्रतिशत, स्वास्थ्य समस्या ८ प्रतिशत र सामाजिक हानिकारक अभ्यास ८ प्रतिशत र अन्य ७ प्रतिशत रहेको थियो । त्यसैगरी महिनावारीको समयमा बिद्यालय जान कठिनाई ६८ प्रतिशत किशोरीहरुले भनेका रहेछन् । शौचालयको सुबिधा नभएको २० प्रतिशत छ भने ३२ प्रतिशत किशोरीले बिद्यालयमा लैंगिक समानता बारे जानकारी नभएको बताएका छन् । त्यसैगरी घरायसी कामको दवाव ४१ प्रतिशत किशोरीले बिद्यालय छोडेर घरको काममा मद्दत गर्नु परेको बताएका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०८१ मंगलबार ००:००  ८ : ४८ बजे