७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

बुटवलमा ५० लाखभन्दा बढीको अवैध सामान बरामद



बुटवल ।

रूपन्देही प्रहरीले भन्सार छली गरी ल्याइएको ५० लाख मूल्यभन्दा बढीका विभिन्न सामान बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बुटवल, रन्यौरा र प्रहरी चौकी बेलभरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार बुटवल उपमहानगरपालिका वडा नं. १५ बाट एक ट्रक सामग्री बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालका अनुसार लु १ ख ८३४० न. को ट्रकलाई शंका लागेर रोकी चेकजाँच गर्ने क्रममा भन्सार छली अवैध रूपमा ल्याउँदै गरेको ५० लाख ४२ हजार ४५० बराबरको सामान बरामद गरेको हो।

बरामद गरिएको सामग्रीमा २ हजार ८५७ पिस लेडिज उलन सुट, ६९० रोल उलन सुटको रोल कपडा, ९८६ पिस कटन सुट, करिब १ हजार स्यान्डो, २४० पिस जेन्स सर्ट, २३० पिस जेन्स कुर्ति, १४७ रोल काचो कपडा तथा टप्स, स्वेटर, सर्ट पाइन्ट कपडा, हुडी, सुरूवाल, ट्याक सुट, जामा, जिन्स पाइन्ट लगायत रहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिइन्।

बरामद गरिएको सामान र ट्रकलाई आवश्यक कारबाहीको लागि सोमबार भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २१ आश्विन २०८१ सोमबार ००:००  ६ : ५३ बजे