२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

शसस्त्र प्रहरी बलको सडक दुर्घटनाबारे संयुक्त अभ्यास



कपिलवस्तु ।
पश्चिम भालुवाङबाट आइरहेको बस र विपरित दिशाबाट गुडिरहेको माइक्रोबीच एक आपसमा ठक्कर खाएको सडक दुर्घटना (काल्पनिक) घटनाबारे शसस्त्र प्रहरी बलले आइतबार सेमुलेशन अभ्यास गरेको छ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत कपिलवस्तुको वाणगंगा २ लखनचोकमा भएको यो अभ्यास सशस्त्र प्रहरी बल, नेपाल नं २८ गण कपिलवस्तु र सुरक्षा बेश पिपराको संयुक्त आयोजनामा सम्पन्न भएको हो। नजिकै रहेकाे पिपरा अस्पतालको प्राविधिक सहयोग र इलाका प्रहरी कार्यलय पिपरा र ट्राफिक प्रहरी, युवा क्लब पिपराको सहकार्यमा दुर्घटनापछि उद्धार र व्यवस्थापनका विभिन्न पक्षहरूमा अभ्यास गरिएकाे थियाे। यो अभ्यासले दुर्घटनापछिको उद्धार, उपचार र सडक सुरक्षाको महत्त्वबारे जनचेतना फैलाउन पनि महत्वपूर्ण सन्देश दिएको छ।

कार्यक्रमका प्रमुख अतिथी कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले सडक दुर्घटनामा कमी ल्याउन सबै समुदायको सहयोग आवश्यक रहेको बताए। उनले सडक दुर्घटना प्रमुख विपद्हरु मध्ये एक भएकोले यसका रोकथाममा सबै निकाय सजग हुनुपर्ने कुरा उल्लेख गरे।

‘जतिबेला पनि सडक दुर्घटना हुने भएकाले स्थानीय तह, प्रहरी युनिट तथा अन्य सरोकार निकाय तयारी अवस्थामा रहनुपर्छ,’ उनले थपे।

शसस्त्र प्रहरी बल नेपाल नं २८ गण हेडक्वाटर कपिलवस्तुका प्रमुख प्रहरी उपरिक्षक रामध्वज पाण्डेले शसस्त्र प्रहरीको राज्य प्रदत्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको बताए। उनले भने, शसस्त्र प्रहरीको विपद् व्यवस्थापन गर्ने जिम्मेवारी भएकाले नेपालमा विभिन्न समयमा भएका विपद्मा राहत, उद्धार र आवश्यक सहयोग गरिरहेका छौँ।

कार्यक्रममा वाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरी, शम्शेरदलका गणपति प्रमुख सेनानी विदुरध्वज अधिकारी, कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक निरन्जन दत्त भट्ट, अनुसन्धान अधिकृत दिनेश पोखरेल, पिपरा अस्पतालका मेसु सरस्वती भट्टराई, वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष हरि अधिकारी, शिक्षक र स्थानीय युवा क्लबका प्रतिनिधिहरूको उपस्थिति थियो।

यो अभ्यासले सडक सुरक्षा र दुर्घटनापछि हुने व्यवस्थापनका महत्त्वपूर्ण पक्षहरूमा जागरूकता फैलाउन ठूलो योगदान पुर्याएको छ।

प्रकाशित मिति : २१ आश्विन २०८१ सोमबार ००:००  ७ : ५४ बजे