१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सञ्चालनमा



काठमाण्डौ ।

बाढीपहिरोका कारण अवरुद्ध भएर फेरि सञ्चालनमा आएका सबै सडकमा यतिबेला गाडीको आवतजावत सामान्य छ । काठमाण्डौ जोड्ने मुख्य सडक नागढुङ्गा–मुग्लिनसहित यसबीचमा पहिरो पन्छाइएका सबै सडकमा गाडीको आवतजावत सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

पश्चिम नवलपरासीको दाउन्नेमा हिजो बेलुकी सडक भासिएर अवरुद्ध भएको सडक रातिदेखि एकतर्फी सञ्चालनमा आएको छ । सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्गबाहेक देशका अरु सबै राजमार्ग एक, दुई दिनमै सञ्चालनमा आउने दाबी गरेको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माले अघिल्लो हप्ताको बाढीपहिरोले क्षतिग्रस्त बनाएका बीपीबाहेक अरु सबै राजमार्ग पर्सि सोमवारभित्रै सञ्चालनमा ल्याउने बताउनुभएको हो ।

बीपी राजमार्ग पनि अस्थायी रुपमा खुलाउने पहल भइरहेको सरकारले जनाएको छ । कान्ति राजपथ आजदेखि नै सञ्चालनमा आउन सक्ने सम्भावना रहेको सचिव शर्माले बताउनुभयो ।

यस्तै अरनिको राजमार्ग पनि केही दिनमै सञ्चालनमा ल्याउन काम भइरहेको उहाँले जानकारी दिनुभयो । त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाण्डौ खण्डमा हिजो बिहानदेखि गाडी चल्न थालेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८१ शनिबार ००:००  ७ : २९ बजे