१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

बैरियाको श्री दुर्गा भगवती मन्दिरमा दशैंको विशेष तयारी, सराय नाँचको भब्य तयारी



वाणगंगा ।

वाणगंगा १ बैरियामा रहेको श्री दुर्गा भगवती मन्दिरमा यस वर्षको दशैंको पुजाअर्चना विशेष रुपमा मनाउन थालिएको छ। हिन्दू धर्मावलम्बीहरूको महान चाड वडा दसैंको आगमनसँगै शक्तिपीठहरूलाई झिलिमिली बत्ती र आकर्षक स्वागत गेटले सजाइएको छ। बिहीबार घटस्थापनाको दिन बिहान उत्तम साइतमा श्री दुर्गा मन्दिरमा विधिपूर्वक जमरा राखिएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चेतनारायण कडेलका अनुसार, दशैंको विशेष पूजा विभिन्न शक्तिपीठहरूमा आरम्भ गरिएको हो।

बैरिया युवा समाजको सकृयता र विशेष जिम्मेवारी भएपछि मन्दिर क्षेत्रमा स्वागत गेट, भिलिमिली र सजावट गरि आकर्षक बनाइएको छ । बैरिया हाटबजार चोकदेखि स्कुल जाने बाटो दुर्गा मन्दिर लाइनको दुई तर्फी केराको बोट र झिलिमिली लाइट राखेर स्वागत गेट निर्माण गरिएको हो। यस वर्ष मन्दिरमा विगतका वर्षहरूभन्दा फरक तरिकाले व्यवस्थित रुपमा बडा दशैँको पूजा हुने युवाहरुले बताएका छन् ।

स्थानीय युवाहरूको सक्रियता :

स्थानीय बैरिया युवा समाजले यस वर्षको बडा दशैंको पूजा र सराँय नाँचको तयारीमा विशेष ध्यान दिइएको छ। समाजले यस क्षेत्रको सरसफाई र व्यवस्थापनमा सक्रिय भूमिका निभाइरहेको छ। अध्यक्ष विष्णु घिमिरेले युवाहरूको योगदानलाई सकारात्मक मान्दै मन्दिरको व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग गरिरहेको बताए। बैरिया युवा समाजका अध्यक्ष घिमिरेले मन्दिरको दैनिक पुजाआजा र सराय नाँच भब्य बनाउन स्थानीय समुदायलाई सहयोग गर्न आव्हान समेत गरेका छन् ।

सराय नाँचको तयारी :

बिगतमा परम्परागत रूपमा हुने पूर्णिमाको सराय नाँच यसपटक भव्य बनाउने तयारी भइरहेको छ । समाजले कार्तिक १ गते पूर्णिमाको दिन हुने सराय नाँचको तयारीका लागि विभिन्न गतिविधिहरूमा जुटेको छ। समाजसेवी राजु पन्तले युवाहरुले आफ्नो ठाउँको विकासमा चासो देखाउनु सकारात्मक भएको भन्दै यहाँका हरेक विकास निर्माण र प्रगतिको लागि बैरिया युवा समाज सक्रिय रहने बताएका छन्। युवाहरुले समाजको लागि धेरै राम्रो काम गर्न सक्छन भन्ने सन्देश दिन खोजिएको छ । यस वर्षको दशैंमा बैरिया क्षेत्रको धार्मिक र सांस्कृतिक महत्त्वलाई उजागर गर्ने प्रयासहरू भएको छ। युवाहरूको सक्रियता र समाजको समर्पणले यस क्षेत्रको धार्मिक परम्परा र मान्यतालाई अझ सशक्त बनाउन योगदान पुर्याउने विश्वास गरिएको छ।

प्रकाशित मिति : १८ आश्विन २०८१ शुक्रबार ००:००  ६ : ५३ बजे