१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कपिलवस्तुमा लायन्सले यसरी गराउदैछ ‘पोण्ड क्रस विथ रोप’



कपिलवस्तु ।

दशैँ, तिहार र छठ पर्वको अवसर पारी लायन्स तथा लियो क्लव अफ कपिलवस्तुले यस वर्ष बाणगंगामा गर्न लागेको नयाँ खेलको तयारी सुरु गरेको छ ।

पछिल्लो दुई वर्ष ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता गरेर चर्चा कमाएको लायन्सले यसपटक असोज २३ गते फुलपातिको दिन पाउन्ड क्रस उथ रोप (Pond cross with Rope) प्रतियोगिता गर्न लागेको हो ।

यो खेल पनि पोखरीमाथि खेलिने खेल हो । जहाँ खेलाडीले पोखरीमाथि १० फिटको उचाईमा राखिएको डोरीमा अड्काइएका रिङलाई एकपछि अर्को गर्दै समातेर निर्धारित ५० मिटरको दुरी पार गर्नु पर्नेछ । यसरी सबैभन्दा छिटो दुरी पार गर्ने प्रतियोगि पहिलो हुने पत्रकारसम्मेलनमार्फत् खेल संयोजक राम शुभागे थारुले जानकारी दिए ।

उनका अनुसार २ उमेर समुह विभाजन गरेर प्रतियोगिता हुनेछ । जुनियरहरु पनि सहभागि बनून् भनेर ८ देखि १६ बर्षकाको लागि त्यहि प्रकारको संरचना तयार गरिन लागेको छ भने त्यो भन्दा माथि जुनसुकै उमेर समुहको सहभागिता हुने गरी अर्को समुह बनाएर खेल खेलाईने थारुले जानकारी दिए ।

खेलको संरचना निर्माण थालि सकिएको उनले जानकारी दिए । स्वास्थ्य र पर्यटनलाई टेवा दिने यो खेल नेपालमै पहिलो हुन लागेको संयोजक थारुको दावी छ ।

यस खेलको लागि १ हजारको फारम भरी अभिभावकको स्वीकृति लिएर सहभागिता जनाउन पाइने छ । प्रतियोगितामा प्रथम हुनेले ५१ हजार, दोश्रोले २५ हजार बढी र तेश्रो र चौथोले पनि पुरस्कार पाउने थारुले जानकारी दिए । जुनियरतर्फ पनि नगद पुरस्कार राखिएको छ ।

यस खेललाई सहासिक खेलको रुपमा लिइएको बताउँदै क्लवका अध्यक्ष नवदत्त घिमिरेले सफल पार्न सबैलाई आग्रह गरे । जिल्लामा पर्यटन प्रवर्द्धनका साथै अटिजम समस्या र लागू पदार्थ दुर्वयसनविरूद्ध जनचेतना जगाउने पनि प्रतियोगिताको उद्देश्य रहेको उनले बताए ।

सुरक्षालाई दृष्टिगत गरी खेलाडीलाई कुनै प्रकारको जोखिम नहुने गरी तयारी भइरहेको क्लवका पूर्वअध्यक्ष सुरेन्द्र घिमिरेले बताए ।

पत्रकार महासंघका कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले लायन्सले हरेक बर्ष जिल्लाकै प्रचारप्रसार गर्ने गरी नयाँनयाँ खेल आयोजना गरेकोमा धन्यबाद दिँदै सबैले प्रतियोगिता सफल बनाउनु पर्ने बताए ।

राजापानी सामुदायिक वनकी अध्यक्ष सितादेवी पौडेलले यस खेलबाट आफूहरु निकै उत्साहित रहेको भन्दै उक्त दिन प्रतियोगिता हेर्न पैसा नलाग्ने बताइन् । विश्वब्यापी चर्चा पाएको पहिलो र दोश्रो संस्करणको साइकल प्लयांक ब्यालेन्सलाई विविध कारण निरन्तरता दिन नसकिएको क्लवले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्नको लागि करिब ८ लाख खर्च हुने क्लवको अपेक्षा छ । प्रथम उपाध्यक्ष नरायण पौडेलको स्वागतमा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रमको संचालन सचिव दामोदर पन्थीले गरेका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०८१ बिहिबार ००:००  ७ : ५५ बजे