१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

वाणगंगा नगर युवा परिषद् गठन, उपाध्यक्षमा भुसाल



वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा आयोजित युवाहरुको भेलाले आज वाणगंगा नगर युवा परिषद् गठन गरेको छ । परिषद्को उपाध्यक्षमा मधुसुदन भुसाल मनोनित भएका छन् । नगर भित्रका युवाहरुको भेलाबाट वाणगंगा नगरपालिका नगर युवा परिषद् गठन तथा संचालन कार्यविधी २०८० अनुसार उपाध्यक्ष पदमा मधुसुदन भुसाल मनोनित भएका हुन् । नगर युवा परिषद्को अध्यक्ष नगर प्रमुख रहने व्यवस्था छ । नगर युवा परिषद्को उपाध्यक्ष पदमा अध्यक्षले मनोनित गर्ने प्रावद्यान छ । सोही अनुरुप नगर प्रमुख तथा परिषद्का अध्यक्ष चक्रपाणी अर्यालले भुसाललाई उपाध्यमा मनोनित गरेका हुन् ।

सोही कार्यविधी अनुसार नगर स्तरीय युवा संजाल समेत गठन गरिएको छ । नगर युवा संजालको अध्यक्षमा अर्चना आचार्य चयन भएकी छन् । जसको उपाध्यक्षमा शंकर प्रसाद थारु, सचिवमा पवित्रा थारु, सहसचिवमा मञ्जु कुमारी गिरी, कोषाध्यक्षमा समिक्षा वेल्वासे, सदस्यहरुमा लक्ष्मी पाण्डे, सुसान्त आचार्य, विपना खनाल, गोपाल सापकोटा, निर्मला सुनार, प्रशंसा चौधरी, आशिका मल्लाह, आशिका घर्तिमगर, सपना चौधरी र अम्बिका खनाल रहेकी छन् । नगर युवा परिषद् तथा संजाल गठनका लागि नगरका ११ वटै वडाका युवा क्लब, किशोर किशोरी संजालबाट प्रतिनिधित्व रहेको थियो । युवा परिषद् १९ बर्षदेखि २४ वर्ष उमेर समुहले प्रतिनिधित्व गर्न पाउने व्यवस्था छ ।
वाणगंगा नगरपालिकाको नगर युवा परिषद कार्यविधीबारे सदस्य सचिव तथा शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले सहभागीलाई अभिमुखीकरण गरेका थिए । कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले नगर युवा परिषद् गठनले नगरपालिकाको युवाको क्षेत्रमा आवश्यक नीति तर्जुमा, कार्यक्रम कार्यान्वयन सहजीकरणमा सहयोग पुग्ने बताए।

सिद्धार्थ सामाजिक विकास केन्द्रको विलिभ कार्यक्रमको प्राविधिक सहयोग र वाणगंगा नगरपालिकाको आयोजनामा वाणगंगा नगर युवा परिषद् गठन गरिएको थियो । नगर भित्र युवा तथा किशोर किशोरीको शिक्षा, क्षमता विकास तथा सिप विकासमा संस्थाले सहयोग गरिरहेको कार्यक्रमका फोकल पर्सन तेज प्रसाद आचार्यले जानकारी दिए । कार्यक्रममा बरिष्ठ कार्यक्रम संयोजक आरटी खानले नगर युवा परिषद् गठनले युवाहरुको क्षेत्रमा ठोस काम हुने बताएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१ बुधबार ००:००  ९ : २० बजे