१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

नेपाल क्यानडासँग पराजित



काठमाडौं ।

त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु क्यानडासँग नेपाल अर्को खेलमा पनि पराजित भएको छ।

क्यानडाको किंग सिटीमा गएराति भएको खेलमा घरेलु टोलीले नेपाललाई ४ विकेटले हराएको छ। १ सय ४० रनको लक्ष्य क्यानडाले १९ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।

क्यानडाका लागि साद विन जाफरले १८ बलमा ४ चौका र १ छक्काको सहयोगमा नट आउट ३३ रन जोडे। कप्तान निकोलस किर्तनले १४ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए।

रविन्द्रपाल सिंहले २१ बलमा नट आउट २०, नवनित धालिवालाले १२ तथा दिलप्रित बाज्वाले २५ रन बनाए। नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले समान २ तथा सोमपाल कामीले १ विकेट लिए।

त्यसअघि टस हारे ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गर्न सक्यो।

राम्रो सुरुवात गरेको नेपालका ओपनर बाहेकका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा मध्यम योगफलमा समेटियो।

नेपालका लागि ओपनर अनिल शाहले ३० बलमा ४ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४१ रन जोडे। पहिलो विकेटका लागि अर्का ओपनर आसिफ शेखसँग मिलेर शाहले ५५ बलमा ७० रन जोडे। आसिफले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३० रन बनाए।

गुलशन झाले बलमा चौका र छक्काको सहयोगमा २३ रन बनाए। एक समय ९ ओभरमा कुनै विकेट नगुमाई ७० रन बनाएको नेपालले बाँकी ११ ओभरमा ६ विकेट गुमाएर ६९ रन मात्र जोड्न सक्यो।

क्यानडाका लागि हर्ष ठाकरले २ तथा डेलिन हेलिगर, अखिल कुमार, प्रविन कुमार र साद विन जाफरले समान १ विकेट लिए।

आइतवार भएको सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो।

दोस्रो खेलमा भने नेपालले ओमानमाथि जित हासिल गरेको थियो।

नेपालले चौथो खेलमा आजै ओमानसँग खेल्नेछ।

प्रकाशित मिति : १६ आश्विन २०८१ बुधबार ००:००  ८ : २९ बजे