१५ आश्विन २०८१, मंगलबार | Tue Oct 1 2024

सम्झौता सकिएको चार वर्षपछि बुटवल थोक बजारको टेण्डर



बुटवल ।
बुटवल कृषि उपज थोक बजार केन्द्रको म्याद सकिएको चार वर्षपछि टेण्डर भए पनि व्यवसायीले असफल पार्न चलखेल सुरु गरेका छन् । व्यवसायीहरूको बहाल सम्झौता सकिएको ४ वर्षपछि भदौको अन्तिम हप्ता बहालको लागि बोलपत्र आह्वान गरिएको छ ।

व्यावसायिक सटरको म्याद सकिएको लामो समय हुँदा पनि टेण्डर नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विभिन्न संघसस्था तथा कृषि विकास मन्त्रालयबाट चासो देखाएपछि टेण्ड आव्हान गरिएको हो ।

वि.सं. २०६७ सालमा बुटवलमा कृषि उपज थोक बजार केन्द्र सञ्चालनमा आएको थियो । नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, बुटवल उपमहानगरपालिका र लुम्बिनी फलफूल तथा तरकारी व्यवसायी समितिको संयुक्त लगानीमा उक्त बजार स्थापना भएको हो । जसमा केन्द्रीय कृषि मन्त्रालयले ६० र अन्य संस्थाको ४० प्रतिशत लगानी छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको यो कृषि थोक बजारमा बुटवल उपमहानरपालिकाले जग्गासहित २४ प्रतिशत र व्यवसायीयले १६ प्रतिशत लगानी गरेका छन् । सुरुको चरणमा १० वर्षको लागि अर्थात वि.सं. २०७७ सालसम्म सम्झौता भए पनि त्यसपछि कुनै पनि टेन्डर आह्वान हुन सकेको थिएन ।

२०७७ साल असोज २५ गते बुटवल कृषि उपज थोक बजारमा घनश्याम भुसालको अध्यक्षतामा बसेको बैठकले भाडा संयोजन गर्ने निर्णय गरेको थियो । प्रतिवर्गफुट ५० रुपैयाँ नयाँ भाडा समायोजन गरी २०७७ साल असोज १ गतेदेखि लागु गर्ने निर्णय भएको थियो । त्यसपछि त्यहाँका थोक व्यवसायी निश्चित भाडा बुझाएर व्यापार गर्दै आएका छन् ।

दोस्रो पटक बहालको लागि सूचना प्रकाशन गरिएको छ । पूर्ववत रूपमा भएको सम्झौताअनुसार १६ प्रतिशत लगानी गरेका व्यवासायीहरूले बहाल सम्झौता बापत रकम कट्टा हुँदै जाँदै गर्दा ४ वर्ष पहिला नै लगानी गरिएको रकम कट्टा भइसकेको थियो ।

कोरोनाकालमा व्यवसायीहरूको मर्कालाई ध्यानमा राखेर केही समयलाई निश्चित भाडा बुझाई थप समय बस्ने सहमति गरिएको थियो । तर, तिनै ब्यवसायी लामो समयदेखि विनाटेण्डर निरन्तर बस्दै आएका छन् ।

कृषि बजार व्यवस्थापन समिति बुटवलका अध्यक्ष घनश्याम भुसालले सार्वजनिक क्षेत्रमा रहेका सम्पत्तिको नियमअनुसार उपभोगको लागि सार्वजनिक रूपमा टेण्डर आह्वान गर्नुपर्ने नियम भएकाले सूचना प्रकाशन गरिएको बताए । उनका अनुसार पहिलो पटक सूचना प्रकाशन गरिएको मितिले ३० दिनसम्मको म्याद राखिएको छ ।

कृषि बजार ब्यवस्थापन समिति, बुटवल – ६, मातहत कृषि उपज थोक बजार स्थलमा रहेका सटरहरू ५ वर्षको लागि शिलबन्दी बोलपत्रका माध्यमबाट बढी कबोल गर्ने बोलपत्रदातालाई बहालमा दिनुपर्ने भएकोले बजार समितिको नियम तथा शर्तहरूको अधिनमा सूचना प्रकाशन गरिएको समितिले जनाएको छ ।

प्रथम पटक सूचना प्रकाशन २०८१ भदौ २४ गते प्रकाशित गरि त्यसको ३० औं दिन अर्थात २०८१ असोज २३ गतेसम्म कार्यालय समयभित्र कृषि बजार व्यवस्थापन समितिको कार्यालयबाट बोलपत्र खरिद गर्न सकिने र बिक्री भएका बोलपत्रहरू सूचना प्रकाशित मितिले ३१ औँ दिनको मध्याह्न १२ बजेभित्र समितिको कार्यालयमा रितपूर्वक शिलबन्दी गरी दर्ता गर्नुपर्नेछ । दर्ता भएका बोलपत्रहरू सोही दिनको १ बजे समितिले जनाएको छ । कार्यालयका अनुसार ठूला साना गरी ६८ वटा सटरका लागि टेण्डर फर्म वितरण र दर्ताको काम भइरहेको छ ।

असफल पार्न व्यवसायीको चलखेल
थोक बजारका केही व्यवसायी टेण्डर असफल पार्न चलखेलमा लागेका छन् । व्यवसायीले सर्वोच्च अदालतमा उत्प्रेषण, परमादेश वा अन्य आदेश जारी गरी पाउँ भनी निवेदन दिएका छन् ।

असोज ६ गते कारण देखाउ आदेश जारी गरि असोज १५ गते आजका लागि कृषि मन्त्रालय र बुटवल कृषि उपज थोक बजार व्यवस्थापन समिति, बुटवल उपमहानगरपालिका लगायतलाई छलफलका लागि बोलाएको एक व्यवसायीले बताए । मुद्दा लड्नका लागि ठूला सटरवालासँग एक लाख र साना सटरवालासँग ५० हजारका दरले रकम उठाइएको एक व्यवसायीले बताए ।

केही व्यवसायी भने म्याद सकिएकाले टेण्डर हुनु स्वभाविक भएकोले आफुहरू नियसंगत तरिकाले टेण्डर प्रकृयामा सामेल हुने बताएका छन् । अहिले म्याद सकिएको ४ वर्ष भएकोले आफुहरू नियमसंगत आधिकारीक रुपमा बस्नका लागि पनि प्रकृयामा गएर टेण्डरमा सहभागी हुन आवश्यक रहेको अर्का एक व्यवसायीले बताए ।

कृषि उपज केन्द्रमा रहेका सटरहरूको न्यूनतम ६ हजारदेखि अधिकतम २८ हजार रूपैयाँसम्म मासिक भाडा रहेको छ । ४ वर्षदेखि भाडामा नलगाई सहमतिमा बस्दै आएका कारण व्यवसायीहरूको व्यवसाय नविकरणसमेत हुन सकेको छैन ।

प्रकाशित मिति : १५ आश्विन २०८१ मंगलबार ००:००  १ : ०४ बजे