१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

झ्याप्ले खोलामा सडक खुले पनि नियमित रूपमा गाडी सञ्चालन हुन समय लाग्ने



काठमाण्डौ ।

नागढुङ्गा–नौबिसे सडकखण्डमा पर्ने झ्याप्ले खोलामा खसेको पहिरो ४८ घण्टापछि हिजो बेलुकी हटाइएको छ । पहिरो हटेपछि सडक एकतर्फी खुलेको र त्यहाँ रोकिएका गाडीलाई पालैसँग काठमाण्डौतर्फ पठाउन थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार पहिरोका कारण सडकमै रोकिएका गाडीको लामो लाइन भएकाले पहिले ती गाडीलाई गन्तव्यतर्फ पठाएपछि मात्रै अरू गाडी नियमित रूपमा सञ्चालनमा आउनेछ । झ्याप्ले खोलादेखि खानीखोला, नौबिसेसम्म रोकिएका गाडी अहिले काठमाण्डौतर्फ पठाइएको छ । काठमाण्डौबाट छुट्ने र काठमाण्डौतर्फ गुड्ने अरू गाडी अहिले चल्न नपाउने ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार रोकिएका सबै गाडी पठाइसकेपछि सडकको अवस्था हेरेर मात्रै नियमित रुपमा गाडी सञ्चालन गर्न दिइनेछ । पहिरो हटाए पनि लेदो माटोका कारण गाडी सञ्चालन हुन कठिनाइ भइरहेको ट्राफिक प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१ सोमबार ००:००  ९ : २२ बजे