१३ आश्विन २०८१, आइतबार | Sun Sep 29 2024

आज विश्व मुटु दिवस मनाईंदै



काठमाण्डौ ।

आज विश्व मुटु दिवस मनाईंदैछ । हरेक वर्ष सेप्टेम्बर २९ तारिखका दिन विश्व मुटु दिवस मनाउने गरिन्छ । यस वर्ष ‘काम गरौं, मुटु बचाऔँ’ नाराका साथ नेपालमा पनि विश्व मुटु दिवस मनाईंदैछ । स्वस्थ जीवनशैली र खानपान नअपनाउने हो भने मुटुजन्य समस्या निम्तन सक्ने मुटुरोग विशेषज्ञ बताउँछन् । धूमपान, जाँडरक्सी खाने, खानामा गुलियो र चिल्लो अधिक प्रयोगले मुटुमा समस्या पार्छ ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार नेपालको कुल जनसङ्ख्यामध्ये झन्डै ३० प्रतिशत कुनै न कुनै प्रकारको मुटुरोगबाट पीडित रहेका छन् । मुटुको रोगमध्ये कोरोनरी मुटुको रोग, बाथ मुटुको रोग, जन्मजात मुटुको रोग र उच्च रक्तचाप प्रमुख समस्याका रूपमा छन् ।

विश्वभर बर्सेनि दुई करोड पाँच लाख मानिसले मुटुको रोगबाट ज्यान गुमाउने गरेको विश्व मुटु महासंघको तथ्याङ्क छ । सन् २०३० सम्ममा नेपाललगायतका विकासोन्मुख देशमा हृदयघात भएर ज्यान गुमाउनेको सङ्ख्या ३५ प्रतिशतभन्दा धरै पुग्ने अनुमान गरिएको छ । आफ्नो स्वास्थ्यमा ख्याल राखेर धुमपान नगर्न, जाँडरक्सी नखान, धेरै गुलियो, चिल्लो र बोसोयुक्त खाना नखान तथा व्यायाम गर्न डाक्टरको सुझाव छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सरकारले सबै प्रदेशमा मुटुको उपचार सेवा विस्तार गर्ने लक्ष्यका साथ काम गर्दै आएको छ । सरकारी अस्पतालमा १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई अप्रेसनलगायत मुटुसम्बन्धी सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्था छ ।

त्यस्तै ७५ वर्षभन्दा बढी उमेरका नागरिकलाई पनि मुटुसम्बन्धी अपरेशनलगायत सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराएको उहाँको भनाइ छ । अन्य उमेरका मुटुरोग लागेका दीर्घरोगीलाई एक लाखसम्मको उपचार सेवा निःशुल्क छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१ आइतबार ००:००  ९ : ०९ बजे