१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

देशभर बाढीपहिरोका कारण कम्तीमा ६५ जनाको ज्यान गयो, ४३ जना बेपत्ता



काठमाण्डौ ।

मुसलधारे वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर जनधनको ठूलो क्षति भएको छ । अहिलेसम्मको तथ्याङ्कअनुसार काठमाण्डौ उपत्यकामा ३४ जना सहित देशभरमा कम्तीमा ६५ जनाको ज्यान गएको छ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका अनुसार काठमाण्डौमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा पाँच जना गरी ३४ जनाको ज्यान गएको हो ।

यस्तै तीनवटा जिल्लामा गरी १७ जना वेपत्ता रहेका कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरिक्षक एसएसपी विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना गरी १७ जना घाइते भएका छन् । काठमाण्डौ उपत्यकामा एक हजार तीन सय १५ जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन् ।

यस्तै ७९ वटा पशुचौपाय मरेका र दुई हजार दुई सय ४१ वटा घर डुवानमा परेका एसएसपी घिमिरेले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यका बाहेक बाग्मती प्रदेशका १० वटा जिल्लामा गरी २१ जनाको ज्यान गएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । वर्षाजन्य विपदबाट हिजो आज गरी २५ जना वेपत्ता भएका प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय बाग्मतीका अनुसार काभ्रेमा १० जनाको ज्यान गएको छ । काभ्रेमा ११ जना वेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा ६ जनाको ज्यान गएको छ भने ४ जना बेपत्ता भएका छन् । दोलखामा पहिरो खसेर ३ जनाको ज्यान गएको छ । यस्तै धादिङ र सिन्धुलीमा १–१ जनाको ज्यान गएको छ ।

यसबाहेक बाग्मती प्रदेशकै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका ६ जना विद्यार्थीमध्ये तीन जनाको शव भेटिएको छ । कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सुरक्षित ठाउँतर्फ जाने क्रममा हराएका ६ जना मध्य तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बाँधको ढोका खोलेपछिको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० घर बाढीमा बगेका छन् । इन्द्रसरोवर–२ खानीखेतस्थित २८ घर डुबानमा छन् । यस्तै पहिरोका कारण पाँचथरमा ५ जना, र धनकुटामा दुई जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१ शनिबार ००:००  ६ : ०३ बजे