१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

लुम्बिनी प्रदेशः पहिरोले यी सडकहरू अवरुद्ध



बुटवल ।

निरन्तर परेको वर्षापछिको पहिरोले लुम्बिनी प्रदेशका विभिन्न सडक अवरुद्ध भएका छन् ।

गुल्मीको तम्घास‐रिडी र रिडी‐रुद्रवेणी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । तम्घास‐रिडी सडक खण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका ११ को उर्लेनी, गुल्मीदरबार गाउँपालिका ४ अन्तर्गत विरबास र छत्रकोट गाउँपालिका ३ अन्तर्गत लुम्छामा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरीले कार्यालय गुल्मी डीएसपी शंकर पोखरलेले बताए ।

अर्घाखाँचीको सन्धिखर्क–गोरुसिंगे सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । नरपानी, घुम्ती, दहखोला, सितापुर लगायतका ठाउँमा पहिराले सडक अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रहरी निरीक्षक एवं सूचना अधिकारी विपिन काफ्लेले बताए । सडक माथिबाट पहिरो खसेपछि गाडी सकेका चलेका छैनन् ।

राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-सल्यान सडक भासिएर अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले खुलाउने प्रयास भइरहेको जनाएको छ। पहाडी जिल्ला प्युठानका सडकहरू पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ । प्युठान विभिन्न ग्रामीण ठाउँमा जाने सडकहरू अवरुद्ध भएका छन् ।

यता पाल्पाको तिनाउ गाउँपालिका ३ केराबारी भन्ने स्थानमा पहिरोले अवरुद्ध बनेको सडक कार्यालयले डोजर प्रयोग गरेर खुलाइएको छ । प्रहरीले अहिले बुटवल पाल्पा सडकमा सवारी चल्न थालेको जनाएको छ।

प्रकाशित मिति : १२ आश्विन २०८१ शनिबार ००:००  ११ : २९ बजे