मायादेवी अनलाइन, बाणगंगा ।
देशका केही नदीहरूमा आइतबारसम्म बाढीको जोखिम बढ्ने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म जोखिम बढ्ने भएकोले सतर्क रहन अपिल गरेको हो ।
मुख्य गरी शुक्रबार र शनिबार केही नदीहरूमा बाढीको जोखिम उच्चदेखि अति उच्चसम्म हुने महाशाखाले जनाएको छ ।
कपिलवस्तु स्थित कोइली नदी जलमापन केन्द्रमा हालको जलसतह सर्तकता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले सो क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ ।
यस्तै नारायणी, कन्काई, कमला नदी र वाग्मती नदीमा बाढीको उच्च जोखिम छ । शनिबार नारायणी, वाग्मती, पश्चिम राप्ती र बबइ नदीमा अति उच्च जोखिम रहेको छ । आइतबार भने यी नदीहरूमा पानीको वहाब कम हुँदै जाने महाशाखाले जनाएको छ ।
देशका धेरै ठाउँमा आज लगातार झरी परिरहेको छ । शनिबारदेखि भने पूर्वी भागतिर कम पानी पर्ने र पश्चिमतिर पानी पर्ने क्रम बढ्दै जाने मौसम पूर्वानुमान छ ।
प्रतिक्रिया