११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

धेरै सुन थुपार्ने १० ठूला देशहरू



एजेन्सी ।
अहिले विश्वमा सुन थुपार्ने होडबाजी नै चलेको छ । विश्वभरिकै मुद्राको मूल्य सुनको मूल्यसँग प्रत्यक्ष रूपमा जोडिने भएको हुँदा धेरै देशले ठूलो परिमाणमा सुन भण्डारण गर्न तँछाड मछाड गरेको पाइन्छ । विश्वमा सबैभन्दा धेरै सुन कुन देशमा होला भनेर कौतूहलतालाई सम्बोधन गर्दै गोल्ड होल्डिङस्ले विश्वमा सुन थुपारेर राख्ने १० देशको नाम सार्वजनिक गरेको छ ।

गोल्ड होल्डिङस्का अनुसार अमेरिकासँग ८ हजार १ सय ३४ टन सुन भण्डारण रहेको छ । अमेरिका विश्वमा सबैभन्दा धेरै सुन राख्ने देशको सूचीमा पहिलो नम्बरमा रहेको अमेरिकाले आफ्नो सुन आफ्नै देशका विभिन्न ठाउँमा खोलिएका भण्डारण केन्द्रमा राखेको बताइएको छ ।

सुन भण्डार गर्ने देशको दोस्रो नम्बरमा जर्मनी रहेको छ । जर्मनीसँग ३ हजार ३ सय ७३ टन सुन रहेको छ । जर्मनीले न्युयोर्कको फेडेरल रिजर्भ बैंक, बैंक अफ इंगल्याण्ड तथा फ्रान्सेली बैंक लगायतमा आफ्नो सुन राखेको बताउँदै आएको छ ।

२ हजार ८ सय१४ टन सुन भण्डारण गरेर अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले तेस्रो स्थान ओगटेको छ । त्यसैगरी सुनको चौथो ठूलो भण्डारण देशको सूचीमा इटाली रहेको छ । इटालीसँग २ हजार ४ सय ५१ टन सुन रहेको छ । इटालीको उक्त सुनको स्वामित्व इटालिया बैंकसँग छ । इटालीले आफ्नो सुन स्विजरल्याण्ड, अमेरिका तथा बेलायतका बैंकहरूमा भण्डारण गरेको पाइएको छ ।

पाँचौं स्थानमा रहेको फ्रान्ससँग २ हजार ४ सय ३६ टन सुन रहेको छ ।

सुन भण्डारण गर्ने छैटौँ मुलुकमा हाम्रो छिमेकी मुलुक चीन रहेको छ । विश्वको सबैभन्दा धेरै सुन उत्पादन गर्ने मुलुकमध्येमा पर्ने चीनसँग १ हजार ८ सय ४५ टन सुन रहेको छ । रसिया सुन भण्डार गर्ने मुलुकको सातौं स्थानमा रहेको छ । अर्बौ डलरको सुन उद्योग रहेको रुसमा १ हजार ७ सय ८० टन सुन रहेको छ ।

आठौं स्थानमा रहेको स्विजरल्याण्डसँग १ हजार ४० टन सुन रहेको बताइएको छ ।

त्यस्तै, सुन भण्डारण गर्र्ने नवौं स्थानमा जापान रहेको छ । जापानसँग ७ सय ७० टन सुन रहेको बताइएको छ । जापानले उक्त सुन आफ्ना केन्द्रीय बैंकमा भण्डारण गरेको छ ।

नेदरल्याण्ड सुन भण्डारण गर्ने विश्वका १० ठूला देशमध्ये १०औं स्थानमा रहेको छ । नेदरल्याण्डसँग ६१२ दशमलब ५ टन सुन रहेको छ ।

धेरै सुन थुपार्ने अन्य देशमा भारतसँग ८ सय ४ टन, टर्कीसँग ५ सय ४० टन, ताइवानसँग ४ सय २४ टन, पोर्चुगलसँग ३ सय ८३, उज्वेकिस्तानसँग ३ सय ७१, पोल्याण्डसँग ३ सय ५९, साउदी अरेबियासँग ३ सय २३, बेलायतसँग ३ सय १०, काजाखास्तानसँग २ सय ९४, लेबनानसँग २ सय ८७ र स्पेनसँग २ सय ८२ टन सुन रहेको छ । हाम्रो देश नेपालसँग भने करिब ७ दशमलव ९९ टन सुन रहेको उल्लेख गरिएको छ ।
(एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : ११ आश्विन २०८१ शुक्रबार ००:००  १ : २९ बजे