११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

लुम्बिनीमा मनाइयो पर्यटन दिवस



लुम्बिनी ।

विश्व पर्यटन दिवसमा अवसरमा शुक्रबार बुद्धजन्मस्थल लुम्बिनीमा पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे( ले पर्यटकलाई खादा र नेपाली ढाका टोपी लगाइदिएर स्वागत गरेका हुन् ।

जापनीज नागरिक यूकु शान, भारतीय विद्या बाग्दी र सुनिल बाग्दीलाई स्वागत गरिएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सरकारका पर्यटनमन्त्री प्रचण्ड विक्रम न्यौपानेले लुम्बिनी देशकै गौरव भएकाले यसको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकार साथमा रहने प्रतिबद्धता जनाए । उनले लुम्बिनी विकास कोषसँग मिलेर अगाडि बढ्ने गरी योजना बनाउने समेत बताए ।

यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा खेन्पो छिमे ले ३६५ दिन नै पर्यटकहरुलाई स्वागत सत्कार गर्ने वातावरण बनाउनुपर्ने बताए । उनले विदेशीसँगै स्वदेशी पर्यटकहरुलाई समेत लुम्बिनी स्वागत गर्दै यसको प्रवर्द्धनमा सबै एकजुट भएर लाग्न आग्रह गरे । उनले बुद्धजन्मस्थल लुम्बिनी नेपालसँगै विश्वका बौद्ध सम्प्रदायको समेत आस्थाको केन्द्र भएकाले आफू आएपछि लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गरेको बताए ।

पर्यटन दिवस कार्यक्रममा लुम्बिनी होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष लिलामणि शर्माले लुम्बिनीको पर्यटनबाट देशलाई नै समृद्ध बनाउन सकिने बताए । उनले पर्यटन दिवससँगै लुम्बिनीमा पर्यटनहरुको आवागमन बृद्धि गर्ने कार्ययोजना ल्याउन पर्यटनमन्त्रीसँग आग्रह गरे ।

“पर्यटन र शान्ति“ भन्ने नारा सहित मनाइएको पर्यटन दिवसमा लुम्बिनीमा भने यात्रा, अध्यात्म र चिन्तन मार्फत शान्तिको प्रवर्द्धन गरौं नारा तय गरी मनाइएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा। हरिध्वज राईले बताए । निरन्तर वर्षात भएकाले शान्तिदीप स्थित थाई भिजिटर सेन्टरमा स्वागत गरिएको हो ।

प्रकाशित मिति : ११ आश्विन २०८१ शुक्रबार ००:००  ९ : ५० बजे