९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

रवि, छवि र जीबी मिलेर डुबाए ग्यालेक्सीमा जनताको बचत



काठमाडौं ।

रवि लामिछाने पहिलो पटक गृहमन्त्री हुँदासम्म जीबी राईको नाम उति साह्रो सुनिएको थिएन । उनी दैनिकजसो पुल्चोकस्थित मन्त्री क्वार्टरमै पुगेर रविलाई भेट्थे । जीबी मन्त्री क्वार्टरमा पुग्दा अहिले सहकारी ठगीमा थुनामा रहेका कुमार रम्तेल प्रायः छुट्दैनथे ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट २० सिटसहित संसद्मा पुगेका रविले ११ पुस २०७९ मा गृह प्रशासनकै नेतृत्व सम्हाल्ने मौका पाए । तर, नागरिकता विवादका कारण लामो समय पदमा टिक्न सकेनन् । एक महिनामै पदमुक्त भए पनि उनी उपचुनावमार्फत फेरि संसद् प्रवेश गरे ।

दुई वर्षपछि रवि फेरि गृहमन्त्री त बने । तर, परिस्थिति फेरिइसकेको थियो । रविका पूर्वसाझेदार जिबी राईविरुद्ध सर्वसाधारणको करोडौं रकम अपचलन गरेको आरोपमा प्रहरीमा जाहेरी दर्ता भइसकेको थियो । राईले सहकारीको रकम निकालेर गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको थियो ।

राजनीतिमा आउनुअघि ग्यालेक्सी टिभी भनेकै रविजस्तो छनक दिने गरी प्रचार गरिएका थिए । उनकै तस्वीरसहित चोक–चोकमा ग्यालेक्सी टिभीका होर्डिङ बोर्ड र प्रचार सामग्री राखिएका थिए । तर, जीबीसँग टेलिभिजनको सहकार्य बीचमै छाडेर रवि राजनीतितिर होमिएका थिए । जिबी निकटस्थहरुका अनुसार, रविकै भर परेर उनले टिभी खोलेका थिए । तर, उनैले ‘धोका’ दिएपछि जीबी बिचल्ली परे ।

रवि दोस्रो पटक गृहमन्त्री बन्ने दौडमा रहँदा उनका साझेदार जिबी भने सहकारी ठगका रुपमा खास चर्चामा थिए । उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेपछि नेपाली कांग्रेसले उनीमाथि सहकारी ठगीमा संलग्न रहेको आरोप लगायो र संसदीय छानबिन समिति नै गठन भयो ।

संसदीय छानबिन समितिले विभिन्न सहकारीबाट ६५ करोड रुपैयाँ ल्याएर टेलिभिजन खोलेको निष्कर्ष निकाल्दै रविलाई पनि कारबाही सिफारिस गर्‍यो ।

तत्कालीन प्रबन्ध निर्देशक एवं १५ प्रतिशत शेयरका धनी रविले भने आफूलाई त्यसबेला लगानी कहाँबाट आएको थियो भन्ने थाहा नभएको जिकिर गरिरहेका छन् ।

यस्तोमा ओखलढुंगाको सामान्य परिवारका गितेन्द्रबाबु राई कसरी काठमाडौं आएर एकाएक धनाढ्य बन्न पुगे रु अनि, कसरी रविसँग मिलेर टेलिभिजन खोल्नेतिर लागे रु अनि, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पनि उनको ठगी धन्दामा कसरी जोडिए ? यिनै प्रश्नको जवाफ खोल्ने प्रयास गरेका छौं ।

ओखलढुंगाका गितेन्द्रबाबु राई स्थानीय कम्युनिष्ट नेता दीपकहरि राईका छोरा हुन् । २०५४ सालमा उनका बुबा दीपक सुनकोशी गाविसमा उपाध्यक्ष पदका लागि उम्मेदवार बनेका थिए । तर, जित्न सकेनन् ।

२०७४ सालको निर्वाचनमा भने जिबीका बुबा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भए । सुनकोशी गाउँपालिका वडा १ का वडाध्यक्ष प्रकाश सापकोटाका अनुसार, उनका छोरा जिबी भने प्रायः गाउँमा आउँथेनन् ।

‘गाउँबाट माध्यमिक तहसम्म पढेर उहाँ काठमाडौं पस्नुभएको थियो’, सापकोटाले अनलाइनखबरसँग सुनाए, ‘त्यसपछि उहाँ बुबा चुनाव लड्ने बेला पनि गाउँमा देखिनुभएन ।’

स्थानीयका अनुसार, जीबी काठमाडौं पसेका बेला माओवादी द्वन्द्व सकिएको थियो । पिरामिड शैलीमा सदस्य संख्या थप्दै सञ्जाल विस्तार गर्ने युनिटी जस्ता नेटवर्किङ संस्थाहरु सञ्चालनमा थिए ।

पारिवारिक स्रोतका अनुसार, राईले त्यसबेला युनिटीको एजेन्ट बनेर पनि काम गरे ।

‘युनिटीमा रहँदै भएको चिनजानका आधारमा उहाँ हर्वो इन्टरनेश्नल नामक नेटवर्किङ व्यवसायसँग पनि जोडिनुभयो’, स्रोत भन्छ, ‘ओखलढुंगामा छँदा सामान्य पृष्ठभूमिका जिबी हर्बोसँग जोडिएपछि आर्थिक हैसियत पनि उकासिँदै गयो ।’

त्यसबेला उनका दाइ अनन्तबाबु राई पनि नेटवर्किङ व्यापारमा थिए ।

हर्वोपछि जिबी आफैंले नेचर हर्ब्स प्रा।लि खोले । वडाध्यक्ष सापकोटाका अनुसार, जिबी एकपटक नेचर हब्र्सको सदस्य बनाउन भन्दै गाउँमा पनि आएका थिए ।

‘तर, धेरै जना सदस्य बनेजस्तो लाग्दैन’, उनले सम्झिए, ‘मेरो पनि त्यसबेलै एकपटक भेट भएको हो ।’

जिबीले नेस्ट नेचर हब प्रा।लि।मार्फत विदेशमा सम्बन्ध विस्तार गरे । ‘हर्बो युनिटी लगायतमा काम गर्दाको अनुभव थियो, उनले आफ्नो कम्पनीमार्फत टुथपेस्ट, स्याम्पो लगायतका सामग्रीहरु उत्पादन गर्न थालेका थिए’, स्रोतले भन्यो, ‘मलेसिया, सिंगापुर, दुबई लगायतमा सेवा विस्तार गरेपछि उनको आम्दानी बढिरहेको थियो ।’

जानकारहरुका अनुसार, त्यतिबेला उनले आफ्नो कम्पनीलाई भारतको डाबरभन्दा ठूलो बनाउँछु भन्दै साथीभाइलाई सुनाउँथे । ‘उनी धेरै पढेका थिएनन्, अलिकति पैसा साथमा आएपछि एकदमै महत्वाकांक्षी बनेका थिए’, उनलाई चिन्नेहरु भन्छन् ।

तर, त्यहिबेला नेटवर्किङको धन्दाले कसरी सर्वसाधारणको लाखौं रकम डुबिरहेको छ भनेर सञ्चारमाध्यममा समाचार आउन थाल्यो ।

सरकारले २०६८ सालमा नेटवर्किङ व्यवसायमाथि नै प्रतिबन्ध लगायो । यद्यपि, कानुनी छिद्र प्रयोग गरेर उनले काम रोकेका थिएनन् । जानकारहरुका अनुसार, हालका राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवर त्यसबेला उनका सल्लाहकार थिए ।

‘समाचारमा नियमित आउन थालेपछि तत्कालीन काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीको नजर उनीमाथि पर्‍यो’, यसबारे जानकार एक प्रहरी अधिकृतले भन्छन्, ‘त्यसबेला जिबी हनुमान ढोकामा बोलाइएका थिए, पछि के भयो थाहा भएन । उनीमाथि अनुसन्धान भएन ।’ बरु कालान्तरमा छवि आफैं जिबीको पार्टनर बने ।

कतिसम्म भने २३ माघ २०८० मा प्रहरीले छविकै शंखमुलस्थित घरमा छापा मारेर जिबीका कम्पनीहरुको सम्पूर्ण विवरण भएको हार्ड डिस्क र सफ्टवेयर बरामद गर्‍यो ।

सम्बन्धबिच्छेद गर्न हेलिकप्टरमा ओखलढुंगा

रविसँग पार्टी स्थापना अघिबाटै जोडिएका डा. मुकुल ढकाल पनि उनले जिबीलाई टिभीबाट असाध्यै फाइदा हुन्छ भनेर लोभ्याएको सुनाउँछन् । ‘त्यतिबेला उहाँले टिभीबारे पावरपोइन्टमा प्रेजेन्टेसन नै बनाएर देखाउनुभएको थियो, टिभी चल्न थालेपछि बोरामा पैसा गन्नुपर्छ भन्नुहुन्थ्यो’, उनले भने ।
नेटवर्किङ व्यापारमा प्रतिबन्ध लागेपछि जिबीको आम्दानी खस्किंदो थियो । त्यहीबेला उनी गोरखा विकास बैंकका तत्कालीन सञ्चालक डम्बरबहादुर बम्जनको परिवारसँग जोडिए । बम्जनकी बहिनी निशासँग उनले दोस्रो विवाह गरे ।

सुनकोशी गाउँपालिकाका स्थानीयका अनुसार, ओखलढुंगामै जिबीले पहिलो विवाह गरिसकेका थिए । श्रीमतीलाई बुबाआमासँगै छाडेका थिए, आफू प्रायः काठमाडौंमा बस्थे ।

निशासँग जोडिएपछि राई जेठी पत्नीसँग सम्बन्धविच्छेद गर्न हेलिकोप्टर चढेर गाउँमा आएको सुनकोशी गाउँपालिका–३ का वडाध्यक्ष गिर्बराज थापा मगर बताउँछन् ।

‘उहाँ एक्कासी हेलिकोप्टरमा आउँदा धेरैले अनौठो मानेका थिए’, उनी भन्छन्, ‘केही पैसा दिएर सम्बन्ध टुटाएपछि उहाँको श्रीमती अझै गाउँमै हुनुहुन्छ ।’

जेठी श्रीमतीले अहिले गाउँमा चिया पसल चलाएर गुजारा गरिरहेकी छन् ।

बम्जन परिवारसँग जोडिएपछि जिबीले भने सहकारीतिर पनि हात हाले । गोरखा विकास बैंक डुबेपनि डम्बरबहादुरले भाइ ज्ञानबहादुर बम्जनको अध्यक्षतामा २६ असार २०६५ मा पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था खोलेका थिए ।

‘बम्जनले सहकारी स्थापना गरेको केही समयमै बहिनी ज्वाइँ गितेन्द्रबाबु राईलाई अध्यक्ष बनाएर भित्र्याएका थिए’, सांसद् सूर्य थापा नेतृत्वको सहकारी छानबिन समितिको प्रतिवेदनमा लेखिएको छ, ‘त्यसबेला देवकुमार नेपाली सूर्यदर्शनमा उपाध्यक्ष थिए, पछि जिबीसँग विवाद भएपछि उनले इमेज सहकारी स्थापना गरेका थिए ।’

बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका नेपाली अहिले फरार छन् । उनीविरुद्ध पनि सहकारी ठगीमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोल मा रेड नोटिस छ ।

सुरुमा बम्जनले जागिर लगाइदिने भन्दै जिबीलाई सूर्यदर्शनमा पठाएका थिए । पछि त्यहीँबाट सिकेर उनले अन्य सहकारीमा पनि हात हाले ।

छानबिन समितिको प्रतिवेदन अनुसार, २०७०र७१ तिर उनी हेटौंडाको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा जोडिए । सुरुमा उनले साढु दाइ कृष्णकुमार तामाङलाई अध्यक्ष बनाए ।

पछि राईले २०७६ सालदेखि दाइ अनन्तबाबु राईलाई अध्यक्ष बनाए । त्यसपछि क्रमशः अन्य सहकारीमा पनि उनले लगानी गर्दै गए । आफन्त र निकट रहेका साथीभाइलाई पदाधिकारी बनाए ।

मिडियाले प्रश्न गरेपछि आफैं सञ्चालक बन्ने प्रयास

राईको पारिवारिक स्रोतका अनुसार, नेटवर्किङ बिजनेस गरेदेखि नै उनलाई ‘मिडियाले व्यवसाय चौपट पारिदिएको’ भान परिरहेको थियो ।

‘मिडियाकै कारण लगानी डुब्यो भन्ने भयो, त्यसपछि आफैंले मिडिया सञ्चालन गर्नुपर्छ भन्ने निष्कर्षमा उहाँ पुग्नुभयो’, निकट पारिवारिक स्रोतले भन्यो, ‘त्यसक्रममा उहाँ अन्नपूर्ण मिडिया नेटवर्कले चलाउन लागेको एपीवान टिभीमा पनि जोडिनुभएको थियो ।’

जानकारहरुका अनुसार, त्यसबेला राईको अपेक्षा आफूविरुद्ध लेख्नेहरुमाथि प्रश्न उठाउन सकियोस् भन्ने थियो । ‘तर, एपीवान टिभीबाट सम्भव भएन, त्यसपछि उहाँ त्यहाँबाट बाहिरिने निर्णयमा पुग्नुभयो’, स्रोतले भन्यो, ‘निस्किँदा लगानीभन्दा बेसी उहाँको विज्ञापनकै बिल आयो । त्यसपछि यत्तिकै निस्किनुभयो ।’

उनको उद्देश्य अझै पूरा भएको थिएन । त्यहीबीच पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुन समेतसँग सल्लाह गरेर नागरिक खबर डटकम नामक अनलाइन खोल्नतिर लागे ।

उनलाई तत्काल परिणाम चाहिएको थियो । त्यो सम्भव नदेखेपछि राई छटपटिइरहेका थिए । त्यतिञ्जेल जिबीले पूर्वडीआईजी छवि जोशीसँग सहकार्य थालिसकेका थिए ।

जानकारहरुका अनुसार, एकदिन छविले नै टेलिभिजन खोल्ने प्रस्ताव जिबीसँग राखे । छविलाई रविले त्यो प्रस्ताव सुनाएका थिए । छविसँग पत्रकारितामै रहँदा रविको चिनजान भएको थियो ।

रविले संसदीय समितिमा दिएको बयानमा भने छविमार्फत जिबीले आफूसँग टिभी खोल्ने प्रस्ताव गरेको दाबी गरेका छन् ।

रविको भर पर्दा ‘

अमेरिकाबाट फर्किएर रवि टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा जमिरहेका थिए । न्यूज २४ मा चलाएको कार्यक्रम ‘सिधा कुरा जनतासँग’ लोकप्रिय भएपनि सञ्चालकसँग मनमुटाव सुरु हुन थालेको जानकारहरु बताउँछन् ।

त्यहाँ काम गरेका कतिपयको भनाइमा, रविले टिभीको टीआरपी आफ्नो कार्यक्रमका कारण मात्र आएको मान्थे, त्यसले समस्या सिर्जना गराउँथ्यो । एकपटक रविले प्रदेशमा गएर ‘सिधा कुरा जनतासँग’ चलाउन थाले । त्यसबेला न्यूज २४ टिभीसँग आर्थिक विषयमा खटपट भएको उनीहरु बताउँछन् ।

विस्तारै विवाद बढ्दो क्रममा रहेका बेला रविले टेलिभिजन छाड्ने योजना बनाए । अन्यत्र संवाद थाले । त्यही क्रममा काठमाडौं प्रहरी प्रमुख हुँदा चिनजान भएका पूर्वडीआईजी छविसँग पनि उनले यो कुरा सुनाएका थिए । जानकारहरुका अनुसार, छविले उनलाई जिबीसँग जोडे ।

त्यसबेला रविले जीबीसँग ‘विश्वस्तरको टिभी खोल्न सकिने’ भन्दै प्रस्ताव गरेको पूर्वडीआईजी जोशीले निकटस्थहरुसँग बताएका छन् ।

छविनिकट एक प्रहरी अधिकृतका अनुसार, पटक पटकको छलफलपछि लगभग सहमतिको खाका बनेपछि न्यूज २४ का सञ्चालकले थाहा पाएका थिए । त्यसबेला रविलाई त्यहीं शेयर दिने र एचडी बनाउन तयार रहेको समेत बताइएको थियो ।

‘तर, उहाँले त्यसलाई जीबीसँगै बार्गेनिङ गर्ने टुल बनाउनुभयो, त्यो कुरा बुझेपछि सबै व्यवस्थापन रविलाई जिम्मा दिने गरी जीबी लगानी गर्न तयार भए’, ती अधिकृतले भने, ‘पहिले पनि गोर्खा नाममा कम्पनी चलाइसकेकाले राई गोर्खा नामबाटै टिभी चलाउन चाहन्थे ।’

छवि पनि त्यसमा सहमत थिए । तर, रविले पत्नी निकिताको गोपीकृष्ण एफएम लगायतलाई पनि मर्ज गर्न सकिने भन्दै फरक नाम प्रस्ताव गरेको उनीहरुको भनाइ छ ।

‘त्यसबेला रविले जीबी राई भयंकर धनी मान्छे हो भन्दै कुरा गर्थे, अन्नपूर्ण होटल बन्द भएका बेला त्यो किन्नलाई गाडीमै नगद बोकेर गएको मान्छे हुन् पनि भनेका थिए’, टिभी खोल्दा रविकै समूहमा रहेर काम गरेका एक व्यक्ति भन्छन्, ‘त्यतिबेला टिभीलाई विश्वकै नम्बर १ बनाउने भनेर उनी स्वयं भन्थे ।’

रविसँग पार्टी स्थापना अघिबाटै जोडिएका डा। मुकुल ढकाल पनि उनले जीबीलाई टिभीबाट असाध्यै फाइदा हुन्छ भनेर लोभ्याएको सुनाउँछन् ।

‘त्यतिबेला उहाँले टिभीबारे पावरपोइन्टमा प्रेजेन्टेसन नै बनाएर देखाउनुभएको थियो, टिभी चल्न थालेपछि बोरामा पैसा गन्नुपर्छ भन्नुहुन्थ्यो’, ढकालले सम्झिए, ‘पैसा गन्न चाहिं तपाईंहरुले मान्छे राख्नुपर्छ, म चाहिँ गन्न सक्दिन भन्नुहुन्थ्यो ।’

जीबी निकट स्रोतका अनुसार, रवि यतिमा मात्र रोकिन्थेनन् । जीबीले मानभवनसहित आफ्ना अन्य कम्पनीका कार्यालय भएका स्थानतिरै टिभी खोल्न प्रस्ताव गरेका थिए । तर, रविले बालुवाटारमै राख्ने प्रस्ताव गरेको जानकारहरु बताउँछन् ।

‘अरुतिर राख्दा टाढा हुन्छ, बालुवाटार पछाडि कार्यालय राख्ने हो भन्नु हुन्थ्यो’, जीबी निकट स्रोतले थप्यो, ‘प्रधानमन्त्री निवासको गेटतिर पर्छ, पछाडि सभामुख निवास, नजिकै प्रधानन्यायाधीश निवास पनि । राति–राति फुत्तफुत्त जाने हो भन्नुहुन्थ्यो ।’

रविको यस्तो प्रस्ताव सुनेर जीबी लोभिएको राई निकटस्थहरु पनि बताउँछन् । ‘उहाँलाई यति धेरै विश्वास दिलाइयो कि टिभी खोल्नासाथ ह्वारह्वारी पैसा आउँछ जस्तो गरियो’, एक आफन्तले भने, ‘जीबीले धेरै पढेका थिएनन्, रविका सबै कुरा पत्याए ।’

उनीहरुका अनुसार, त्यसबेला जीबीले टेलिभिजनमा ३ अर्ब लगानी गर्न लागेको बताएका थिए । जानकारहरुका अनुसार, टिभी खोल्ने टुंगो लागेपछि कर्मचारीहरु छान्नलाई अन्तर्वार्ता लिने लगायतका काम समेत म्यारियट होटलमा बसेर भएको थियो ।

‘त्यसबेला त्यो अनौपचारिक कार्यालय जस्तै भएको थियो, पछि टिभी स्थापना गर्ने घोषणा पनि त्यहीँबाट भएको थियो’, ग्यालेक्सी टिभीका एक पूर्वकर्मचारी भन्छन्, ‘मदनकृष्ण हरिवंश, राजेश हमाल, विजयकुमार, दीपकराज गिरी, रमेश प्रसाईं लगायतलाई उतारेपछि टिभी साँच्चै नेपालमा नमूना नै बन्ला भन्ने पर्‍यो ।’

जानकारहरुका अनुसार, जीबी पनि लगानी डुब्दैन भन्ने भ्रममा परे । त्यसपछि जीबी, छवि सञ्चालक र रवि प्रबन्ध निर्देशक बस्ने गरी टिभी सुरु भयो । छविले आफूनिकटस्थहरुसँग बताएअनुसार, टिभीका सामग्री खरिद पारदर्शी भएन भने खर्च अत्यधिक भयो ।

रविले आफू निकटहरुलाई अत्यधिक तलब दिएर भित्र्याएका थिए । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सह–महामन्त्री विपिनकुमार आचार्यलाई उनले आर्थिक वर्ष २०७८र७९ मा मासिक २ लाख ८६ हजार ५७३ रुपैयाँ तलब दिएका थिए ।

उनको नोबडी प्रोडक्सनलाई समेत पटकपटक छुट्टै रकम दिइएको विवरण सहकारी छानबिन समितिको प्रतिवेदनमा समावेश छ ।

रास्वपामा हाल केन्द्रीय सदस्य रमेश प्रसाईंलाई त्यही आर्थिक वर्ष १ लाख ११ हजार रुपैयाँ, दीपक बोहरालाई ८९ हजार ४४५ र सहप्रवक्ता समेत रहेकी प्रतिभा रावललाई ५७ हजार ३१८ रुपैयाँ मासिक तलब दिइएको सहकारी छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

‘कर्मचारीहरुलाई एकदमै उच्च तलब दिइएको थियो, त्यसैले पछि जीबी असन्तुष्ट हुँदै खर्च कटौती गर्न टिभीको शीर्ष नेतृत्वमा नयाँ मान्छे पनि भित्र्याएका थिए’, एक कर्मचारीले भने, ‘तर, समाचारमा काम गर्ने मुख्य व्यक्तिदेखि सरसफाइ सहयोगी नियुक्तिसम्म रवि नै संलग्न भएकाले धेरै कटौती गर्ने स्थिति पनि भएन ।’

पछि ग्यालेक्सी टिभीले पूर्वनिर्धारित कार्यक्रमहरु नै सञ्चालनमा ल्याउन सकेन । सुरु भएका कार्यक्रमले पनि निरन्तरता पाएन ।

‘कतिसम्म भयो भने ग्यालेक्सी टिभीमा उत्पादित त्यस्ता कार्यक्रम आचार्यजीको कम्पनीले चलाउने डोको नामको युट्युब च्यानलमा अपलोड गरिन्थे’, जिबी निकट अर्का कर्मचारीले भने, ‘यो कुरा उहाँले पछि मात्र थाहा पाउनुभएको थियो ।’

जानकारहरुका अनुसार, टेलिभिजन छाड्नु अघिसम्म जिबीलाई रविले नै डुब्न लागेको लगानीबाट पार लगाउँछन् भन्ने थियो ।

‘तर, एक्कासी टिभी छाडेर राजनीतिमा जाने घोषणा गरेपछि टिभीमा अलिअलि आइरहेका विज्ञापन पनि रोकिए’, उनले भने, ‘पहिले रविकै नामका कारण ती विज्ञापन आएकाले पनि नोक्सानी पुग्नु स्वभाविक थियो ।’

टिभी छाडेर राजनीति सुरु गरेको छोटो अवधिमै रवि उपप्रधानमन्त्री एवं गृहमन्त्री बने । ‘त्यसबेला पनि उहाँ ९जीबी राई० रवि सरले पार लगाउनुहुन्छ भन्नुहुन्थ्यो’, जीबी निकट ती कर्मचारीले भने, ‘उहाँलाई पहिलो पटक गृहमन्त्री हुँदासम्म रविजीले सहयोग गर्ने वचन दिइरहनुभएको थियो ।’

तर, परिस्थिति यस्तो बन्यो कि राई नेपालबाटै फरार भए । अध्यागमन विभागको रेकर्डले उनी १० भदौ २०८० मा मलेसियाबाट नेपाल फर्किएको देखाउँछ ।

जीबीलाई खोजी गरिरहेका प्रहरी अधिकृतहरुको भनाइमा फर्किएपछि उनी स्थलमार्गबाट फेरि भारत हुँदै मलेसिया पुगेका थिए ।

‘सहकारी नै खोल्ने योजना थियो’

संसदीय समितिलाई बयान दिँदै रविले टेलिभिजन स्थापना गर्दा जीबी राईको कुनै सहकारी छ भन्ने जानकारी नै नभएको बताएका छन् ।

‘राई विभिन्न कम्पनी चलाएका व्यक्ति हुन्, उनको आर्थिक हैसियत अत्यन्त सबल रहेको बुझेँ’, रविले भनेका छन्, ‘त्यसबेलासम्म कुनै किसिमको विवादमा परेको पनि मैले पाइनँ ।’

तर, रविका त्यसबेला साझेदारहरु भने उनलाई जिबी सहकारी सञ्चालन गर्थे भन्ने विषय थाहा थिएन भन्ने मान्न तयार छैनन् ।

रास्वपाका पूर्वमहामन्त्री समेत रहेका डा। मुकुल ढकाल रातोपुलमा रहेको एक क्याफेमा बसेका बेला सहकारी खोल्ने विषयमै छलफल हुने गरेको सम्झन्छन् ।

‘त्यसबेला सहकारीबारे मलाई त्यति धेरै थाहा थिएन, त्यतिबेला सहकारी खोलेर कृषि क्रान्ति गर्ने गरी काम गर्नुपर्छ भन्नुहुन्थ्यो’, ढकाल भन्छन्, ‘अहिले उपसभापति रहनुभएको डिपी अर्यालको रेमिट्यान्स व्यवसाय थियो, संसारभरिबाट शेयर किन्न मिल्ने बनाउने भन्ने कुरा थियो ।’

सहकारी ठगीमा थुनामा रहेका कुमार रम्पेल, रास्वपा उपसभापति डीपी अर्याल, सभापति रवि लामिछाने र सहकारी ठगीमा फरार जीबी राई ।
त्यतिबेला कृषि क्रान्ति गर्ने भनेर अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थामा जोडिएको उनी बताउँछन् । यो सहकारीमा अर्याल उपाध्यक्ष थिए भने रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी कुनै समय सदस्य थिए ।

‘त्यतिबेला मलाई पनि सहकारीबारे अध्ययन गर्न उहाँहरुले भन्नुभएको थियो’, ढकाल भन्छन् । यस्तोमा जिबी राईले सहकारी चलाउँथे भन्ने नै थाहा थिएन भनेर रविले भन्न नमिल्ने ढकाल बताउँछन् ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जीबी राई सञ्चालक रहेको ७ मध्ये पाँच वटा सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको निष्कर्ष निकालेको छ । गोर्खा मिडिया रकम गएको थप एउटा सहकारीमा कुमार रम्तेल सचिव छन् । थापा समितिको सिफारिसपछि पूर्वडीआईजी छविलाल जोशीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने रविविरुद्ध पनि पूरक अभियोग लैजाने तयारी छ । यो बीचमा फेसबुक लाइभमार्फत रविले प्रबन्ध निर्देशक बनेपछिको अवस्थामा टिभीबाट भएको रकम प्रयोगबारे जिम्मेवारी लिने संकेत गरेका छन् ।

सहकारी ठगीमा संलग्न नरहेको दाबी गर्दै रविले भनेका छन्, ‘आफू कार्यरत रहेको बेला आएको पैसा भएकाले त्यसको चाहिँ कानुनी कारबाहीको भागीदार हुनुपर्छ है भनेको कुरालाई हामीले नकार्न मिल्दैन ।’ -साभार अनलाइनखबर

प्रकाशित मिति : ११ आश्विन २०८१ शुक्रबार ००:००  ९ : ४० बजे