११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

साहारा सामुदायिक वनको साधारणसभा, विकास र संरक्षणमा जोड



बाबुराम रायमाझी, भलवाड ।

वाणगंगा नगरपालिका वडा नं. ९ स्थित साहारा सामुदायिक वनले आफ्नो २३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। यस कार्यक्रमले समुदायको वन व्यवस्थापन र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ। कार्यक्रममा वार्षिक प्रगति प्रतिबेदन सचिव कमला अधिकारीले प्रस्तुत गरिन्।

यसैगरी कोषाध्यक्ष सृष्टि पोख्रेलले आर्थिक वर्ष २०८०-०८१ को आय-व्यय विवरण सार्वजनिक गरिन्, जसमा कुल ७२ लाख ३१ हजार रुपैयाँको कारोबार भएको जानकारी दिइन्। लेखा संयोजक दुर्गा प्रसाद पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्दै केही सुझावहरू पनि दिए।

समूहका अध्यक्ष ठाकुर प्रसाद खनालले साहारा सामुदायिक वनको भावी रणनीतिबारे विस्तृत जानकारी दिए। उनले वनको दीर्घकालीन संरक्षण र समुदायको आर्थिक विकासलाई समानान्तर रूपमा अगाडि बढाउने योजना रहेको बताए।

कार्यक्रममा सामुदायिक वन उपभोक्तामध्येका जेष्ठ नागरिक, कार्यसमितिका पूर्व पदाधिकारी र वन हेरालुहरूलाई सम्मान गरेको थियो साथै, स्थानीय सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पाठ्य सामग्री वितरण गरेको थियोे ।

सब डिभिजन वन कार्यालय गोरुसिङेका प्रमुख दयाराम पौडेलले सामुदायिक वनको कार्यप्रणालीमा पारदर्शिता र नियमानुसारको कार्यान्वयनमा जोड दिए। उनले गरिबी न्यूनीकरण र उद्यमशीलता प्रवर्द्धनका लागि काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

वडा अध्यक्ष कमल पौडेलले स्थानीय निकायसँगको समन्वयमा विकास निर्माणका कार्यहरू गर्न सुझाव दिए। कोइलीचौर साना किसान सामुदायिक वनका अध्यक्ष कुन्तामणि भुसाल, भलवाड स्वास्थ्य चौकी प्रमुख जित विकास रायमाझी र कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यो सामुदायिक वन २०९।६८ हेक्टर क्षेत्रफलमा फैलिएको छ र यसमा १७७ वन उपभोक्ता परिवारहरू आबद्ध छन्। यसले वन संरक्षणका साथै स्थानीय समुदायको आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

कार्यक्रमको सहजिकरण सचिव कमला अधिकारीले गरेकी थिइन् भने अध्यक्ष ठाकुर प्रसाद खनालले सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

साहारा सामुदायिक वनको यस वार्षिक साधारणसभाले वन व्यवस्थापन र समुदायको विकासबीच सन्तुलन कायम राख्दै अगाडि बढ्ने संकल्प गरेको देखिन्छ। यसले स्थानीय स्तरमा वन संरक्षण र आर्थिक विकासको एक उत्कृष्ट नमूना प्रस्तुत गरेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८१ शुक्रबार ००:००  ९ : १४ बजे