१० आश्विन २०८१, बिहिबार | Thu Sep 26 2024

विदेशी विनिमय सञ्चिति करिब २१ खर्ब पुग्यो



काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गरकेो छ । उक्त तथ्यांक अनुसार यस अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत रहेको थियो ।

त्यसैगरी आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको छ ।

यस अवधिमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको छ । नेपाल सरकारको खर्च रु.४० अर्ब २१ करोड र राजस्व परिचालन रु.९४ अर्ब ७४ करोड रहेको छ ।

विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.८ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.७ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.३ प्रतिशतले बढेकोछ ।

वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१ बिहिबार ००:००  १ : ५१ बजे