६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

‘स्वदेश फर्क युवा’



विष्णु बहादुर राउत ‘विज्ञान’ ।
अंग्रेजका सामु घोडा नटेकेको देश हो नेपाल । संसारभर नै बहादुर, वीर गोर्खाली भनेर चिन्ने गरिन्छ, नेपालीलाई । त्यसैले एक नेपाली हुनुमा गर्व महशुस हुन्छ । यहाँको जनसंख्या करिव तीन करोड छ । नेपालको राजनीतिक इतिहास स्मरण गर्दा राणा विरुद्ध, पन्चायत विरुद्ध र निरंकुश राजतन्त्र विरुद्धको संघर्षको क्रममा थुप्रै नेपालीहरुले सहादत प्राप्त गरेर मात्रै यसैको जगमा आंशिक उपलब्धि हासिल गर्न सफल भएको छ ।

पर्यटकहरुको आक्रषणको केन्द्र नेपाल यहाँ भौगोलिक अखण्डता, स्वच्छ पर्यावरण, मनोरम वातावरण, टलक्क टल्कने हिमशिखर, वन्यजन्तु तथा पशुपन्छी, डाँडाकाँडा हरियाली, नेपालीको सहयोगी भावनाले पक्कै पनि विदेशी पाहुनालाई आकर्षण गरेको नै छ । तर बिडम्बना सबै तवरबाट सम्भावना बोकेको देशमा युवाहरु किन बस्न चाहेका छैनन् ?

यो विषय भने बडो गम्भीर नै छ । यसको समिक्षासहित समाधान खोज्नु आजको आवश्यकता हो । पछिल्लो सात महिनामा वैदेशिक शिक्षा हासिलको नाममा करिव ६६ अरब ६४ करोड पूंजी पलायन भएको तथ्यांक छ । देशका खम्बाहरु दैनिक २८०० को दरमा पलायन हुनु बाध्यता कि रहर ? बिरामी बुबा/आमाको उपचार गर्न छोरा/छोरीलाई पढाउन, एक गाँस खान, एक सरी लुगा लगाउनकै लागि देश छोड्नु पर्ने कस्तो बाध्यता आयो ? ५०/६० हजारको सरकारी जागिर छाडेर, करौडौंको जग्गा जमीन बाँझो राखेर बिलासीको जीवनका लागि बाहिरिनु पर्ने रहर नभइ बाध्यता हो भनेर कसरी भन्नू ? यहाँ वृद्ध बुबा/आमालाई बिरामी हुँदा तातो पानी दिन पनि नसक्नु कस्तो ! परिवारप्रतिको उत्तर दायित्व हो ? त्यहाँ अर्काको देशमा बसेर मालिकको सेवामा समर्पित श्रम गर्दा त त्यहाँको अर्थतन्त्रमा वृद्धि आउने होइन र ? नेपाल बनेन, नेता र कर्मचारीले देश सक्काए भनेर टिकाटिप्पणी गर्ने कि ? नेपाल फर्केर असल नेता बन्ने । असल कर्मचारी बन्ने । असल उद्यमी बन्ने । असल कृषक बन्ने । कि असल नागरिक बनेर सिपलाई प्रविधिसँग जोडेर आत्मनिर्भर देश बनाउन तत्पर हुँदै उदाहरणीय कार्य गर्ने ? यति त सम्भव छ ।

ए ! अनेकौं सम्भावना बोकेका नेपाली युवाहरु ! शहरमा घडेरी किन्नकै लागि, चिल्लो कार चढ्नकै लागि, बिलासीको जीवन जिउनै लागि किन अर्काको देशमा रगत र पसिना बगाउन बाध्य छौँ ? आउ फर्क ! उद्योग खोलौं, कार यहि बनाऔं । मकवानपुर, मनाङ र मुस्ताङमा भएको युरेनियम माथि कब्जा गर्न MCC मार्फत अमेरिका आइसक्यो ! आउनुहोस् एमसीसीलाई खारेज गरौं र हाम्रा वैज्ञानिकलाई लिएर यहीं बनाऔं ब्यालास्टिक मिसाइल, आणविक बम र हतियार । के सम्भव छैन र ? सम्भव छ । पहाडमा बस्ती बसाऔं । तराईमा आधुनिक प्रविधिबाट खेती गरौं । लाखौंको संख्यामा पर्यटक भित्त्राऔं । राज्यलाई कर तिरे अनुसारको सुविधा भोग गरौं । आऊ युवा हो, स्वदेश फर्क युवा ! कतिन्जेल गुलाम मात्र गरि राख्छौ ? कतिन्जेल दास मात्र बनिराख्छौँ । तिम्रो त्यो सिपलाई, हाम्रो जमिनमा प्रयोग गरौं । संसारभर हाम्रो सामान निर्यात गरौं । पहिलो विषय देश आत्मनिर्भर बनाऔं । मात्र विदेशी खेल्ने मैदान हुनबाट बचाऔं । फर्क युवा – स्वदेश फर्क ! कति कुद्छौ पैसाको पछि । तिमीलाई बुढी आमाले कुरी राख्नु भएको छ । परिवारले पर्खी राखेको छ । फर्क युवा स्वदेश फर्क ! श्रममा बाचौं, पौरखमा बाचौँ । दास होइन सेवक बनौं ।

ए युवाहरू ! राज्यले योजनाबद्ध तवरबाट युवाहरु खेदि राखेको छ । कारण बौद्धिक जवान युवाहरु पलायनपछि देशको जमीन नै बेचेर कुर्सीको रक्षा गर्नेहरु माथि विद्रोह हुँदैन, जनतामा निहित स्वार्थ लाद्न पाइन्छ । अर्को विदेशीको पनि आफ्नै स्वार्थ छ की नेपालीहरु संसारभर नै काम नठग्ने, इमान नबेच्ने, वास्तविक श्रमिक भनेर चिन्ने गरिन्छ । यस्तो वास्तविक जनशक्तिलाई तल्लो दर्जाको बिदयच को रुपमा प्रयोग गरिरहेको छ । अझ विकसित भनिने देशहरु अमेरिका, क्यानेडा, अस्ट्रेलिया, जापान, कोरिया लगायतका देशहरुमा त झन् आम्दानी अनुसार खर्च त्यहीं गर्ने नीति नै छ । गाँस – बास – कपासको व्यवस्था भएपछि हाम्रा देशका युवाहरु मख्ख कि नेपाल बिर्सन लाए । यदाकदा समाचारमा सुन्ने गरिन्छ की अब नेपाल नफर्कने, अब यतै बस्ने, नेपाल आउने अनि परिवार उतै लग्ने जो प्रवृत्ति छ यो निकै घातक छ । देशको जमिन छाडेर वाहिर जाँदा गर्व गरेको जस्तो देखिन्छ । भिषा मात्र आउँदा भोजभतेर नै गरेको देखिन्छ । यस्तो प्रवृतिमा दलाल राज्यसत्ता, यसको नेतृत्व र विदेशी शक्ति केन्द्रहरु सफल भएको देखिन्छ ।

खासगरी युवा पलायनताका मुख्य कारण बेरोजगारी देखियता पनि यत्ती कारण चाहिँ होइन, तीव्र पैसा प्राप्तिसङ्गै बिलासी जीवन जिउने सोंचका साथ लहलहैमा दैनिक ठूलो संख्यामा युवाहरु पलायन भएको देखिन्छ । कृषिजन्यवस्तुको उत्पादन र हाइड्रोको उत्पादन खनिज पदार्थको उत्खननको पर्याप्त सम्भावना बोकेको देश नेपालमा करिब ३ करोड जनसंख्या रहेको छ । बिडम्बना एक करोड भन्दा माथी युवाहरु विदेश पलायन भएको अवस्था देखिन्छ, जुन आज र भोलिको निम्ती निकै घातक सावित हुने देखिन्छ । युवा पलायनताको मुख्य कारण बेरोजगार, राष्ट्रियताप्रतिको चेतमा विकास नहुनु, जनतामा शासन लाद्न सहज हुने स्थितिमा राज्य र विशेषतः विदेशी हस्तक्षेपकारी नीतिका विरुद्ध युवाहरुको विद्रोह नहोस् भन्ने चाहनासहित विश्व साम्राज्यवादको योजनामा युवा पलायन साथै नेपाली श्रमिक युवाहरुले इमानदारीता, गतिशीलता, साहसीपनका बिच विश्वमा विश्वास जित्न सफल भएका कारण युवा पलायन झन्–झन् बढेको प्रष्ट देखिन्छ । जुन निकै दुःखद पक्ष हो । जसका कारण देशमा समृद्धि हुनै सक्दैन ।

निरंकुश राणाशासन, पन्चायती शासन व्यवस्था, सामन्तवादी व्यवस्था (राजतन्त्र) हुँदै बहुदलीय प्रतिस्पर्धासहितको संघीय गणतन्त्र (पुँजीवादी संसदीय व्यवस्था) मा देशको वर्तमान अवस्थिति रहेको छ । बिडम्बना हजारौं सहिदको रगतको बलमा प्राप्त भएको उपलब्धी न त रक्षा हुन सक्यो न त विकास नै त्यसकारण हालको मुख्य चुनौती भनेकै प्राप्त उपलब्धिको रक्षा र विकास गर्नु नै हो । युवा पलायनताको अर्को कारण राजनीतिक दल र संसदीय प्रणालीमा नै अस्थिरता हुनु हो । किनकी वर्तमान संसदीय शासनसत्ता नै असफल सिद्ध भइसक्यो ।

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाभित्रको समग्र संरचनामा रुपान्तरण नहुँदासम्म देशको समृद्धिको कल्पनासम्म गर्न सकिँदैन भन्ने बहसबाट युवापुस्ता टाढा भाग्न खोजेको, श्रम–संघर्ष र अनुसन्धानको विषयलाई गहन तवरबाट बुझ्न नसकेको, योजनाबद्ध राज्यको निराशाको सिकार भएका कारण स्वदेशी भूमि छाडेर विदेशी भूमिमा रगत र पसिना बेच्न विवश भएका हुन् नेपाली युवा ।

जुन गतिमा आज युवा पलायन बढेको छ, यसको ४ गुणाको गतिमा स्वदेश फर्कनेको संख्या बढ्ने छ । हामी यहि चाहन्छौं कि नेपाली युवाहरु स्वदेश फर्कने अवस्था छिट्टै आओस् र हामीले राजनीतिक हिसाबले अग्रगमन (समाजवाद) का निम्ति संघर्ष चर्काउनेछौं, विश्वभर विदेशी भूमिमा सिकेको मानसिक र भौतिक श्रमलाई स्वदेशी भूमिमा कृषि, खनिजको उत्खनन, हाइड्रो, जडिबुटी, उत्पादन, काष्ठजन्य वस्तुको प्रयोगमा नयाँ प्रबिधि प्रयोगसहितको उत्पादन, आत्मनिर्भर व्यक्ति, समाज, अर्थतन्त्र र सिंगो देश भन्ने मुख्य नारालाई आत्मसाथ गर्दै समृद्धिको यात्रा तय गर्नेछौं ।

नेपाली आमा प्रसवको पीडामा छिन् । तिम्रो विदेशी भूमिमा बेचिएको रगत र पसिनाको मुल्यले त्यस देशको अर्थतन्त्र माथी उठ्ने हो न कि हाम्रो देश (नेपाल) को अर्थतन्त्र । एकचोटी लाखौं खर्चेर खाडी मुलुक दुबै, कतार, साउदी, मलेसिया ‘मा बालुवा र रगतसंग घिस्रिएको श्रम सिपलाई बोकेर स्वदेश फर्क । जापान, दक्षिण कोरिया, चीन, भारत, रुस, बङगलादेश, अफगानिस्तानको जमीनमा घिस्रिएको श्रम सिपलाई बोकेर स्वदेश फर्क ! ग्रीन कार्ड – पिआरको अपेक्षासहित अमेरिका, बेलायत, अस्ट्रेलिया, न्यूजिल्यान्ड, नर्वे, फ्रान्स, इटली, डेनमार्क, क्यानडा लगायत विश्वभरका देशमा पुगेका नेपालीहरु त्यहाँको जमीनमा बगाएको रगत र पसिनाको मूल्य बोकी स्वदेश फर्क नेपाली युवा !

नेपाली भूमिमा असल राजनीति सेवा गरौं, असल राजनीतिज्ञ बनौं असल राजनैतिक नेतृत्व या समर्थक बनौं, कर्मचारीतन्त्रभित्र असल नेतृत्व र कर्मचारी बनौं असल पत्रकार, असल बुद्धिजीवी, असल कृषक बनौं, असल उद्यमी बनौं असल मजदुर बनौं । यसका निम्ति मानवीय श्रमलाई पहिलो प्राथमिकतामा राख्दै विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गरि सिद्द गरौं ।

नेपाल बन्छ । बनाउन सकिन्छ । निराशालाई विदेशी भूमिमै छाडिदेउ । फर्की आऊ स्वदेशी भूमिमा । तिमी ! नेपाली आमालाई खाँचो छ । नेपाललाई खाँचो छ । तिमी निराश हुँदा नेपाली आमा रोइराखेको छिन् । तिमी स्वदेश छाड्दा दलालहरु खुसी भइरहेछन् । देशको जमिन बेचेर, सत्ता र कुर्सी बचाउमा लागिरहेछन् । तिमीलाई लखेट्न दलाल राज्यसत्ता र यसका नेतृत्वको योजना थियो, तिमी उसको सफलताभित्र परेउ । अब त ब्युँझ! अब त बुझ र स्वदेश फर्क ! तिमीलाई नेपालले पर्खिरहेछ । कुरिरहेछ । स्वदेश फर्की आऊ ! र मात्र नेपालले समृद्धिको यात्रामा सफलता प्राप्ति गर्नेछ । हामी सुखीः खुसी हुनेछौं ।

(लेखकः अखिल (समाजवादी) का विद्यार्थी नेता हुन्)

यो पनि पढौँ …. विद्यार्थी आन्दोलनको ऐतिहासिक विरासत

प्रकाशित मिति : १० आश्विन २०८१ बिहिबार ००:००  १० : ५६ बजे