८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

दिल्लीमा मुख्यमन्त्री आतिशीको ‘खराउ’ शासन



काठमाडौं ।
भारतको राजधानी प्रदेश दिल्लीकी नयाँ मुख्यमन्त्री आतिशी मार्लेना सिंहले अनौठो शासन सुरु गरेकी छन् । सञ्चारमाध्यमले त्यसलाई ‘खराउ शासन’ को संज्ञा दिएका छन् ।

उनले मुख्यमन्त्रीको कुर्सीमा नबसेर छेऊमा अर्को सानो र भिन्नै रङ्गको कुर्सी राखेर शासन प्रशासन चलाउन थालेकी छन् ।

उनको भनाइमा खाली राखिएको कुर्सी वास्तविक मुख्यमन्त्री अरविन्द केजरीवालको हो । उनी आफू भने निमित्त मुख्यमन्त्री मात्र हुन् । कुनै दिन केजरीवाल फेरि सत्तामा फर्किएर आउनेछन् र मुख्यमन्त्रीको कुर्सीमा बस्नेछन् भन्ने विश्वासमा यस्तो गरिएको हो ।

यो घटनालाई रामायणको कथासँग जोडिएको छ । राम १४ वर्ष वनवास जाँदा भाइ भरतले राजगद्दीमा दाइको खराउ राखेर अयोध्याको शासन प्रशासन सम्हालेका थिए ।

आतिशीले आफूलाई केजरीवालको ‘भरत’ भएको स्वीकार गरेकी छन् । अघिल्लो हप्ता आम आदमी पार्टीका नेता अरविन्द केजरीवाल १७७ दिन लामो जेल जीवनपछि छुटेका थिए । उनीमाथि मदिरा नीति निर्धारण र लाइसेन्स वितरणमा भ्रष्टाचार गरेको आरोप छ ।

केजरीवाल र आम आदमी पार्टीको उदय सन् २०१२ को भ्रष्टाचार विरोधी अन्ना हजारे आन्दोलनको क्रममा भएको थियो ।

केजरीवाललगायत पार्टीका सबै मुख्य नेताहरू भ्रष्टाचारको आरोपी भएपछि दिल्लीको मुख्यमन्त्री पद आतिशी मार्लेना सिंहको हातमा आएको थियो ।

सर्वोच्च अदालतले जमानत दिँदा अफिस जान बन्देजको शर्तका कारण केजरीवालले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए । उनी आम आदमी पार्टीका संयोजक पनि हुन् ।

मुख्यमन्त्रीको कुर्सी खाली राखेर भिन्नै कुर्सीबाट शासन प्रशासन चलाउने सिंहको निर्णयलाई आलोचकले ‘अनावश्यक नाटक’ भनेका छन् । यसलाई अस्वाभाविक ‘केजरीवाल भक्ति’का रूप हेरिएको छ ।

सोमबार मुख्यमन्त्रीको शपथपछि सिंहले कजरीवालको चरण स्पर्श गरेर आशीर्वाद लिएकी थिइन् ।

भारतको राजनीतिमा यस्तो भएको यो पहिलो घटना भने हैन । सन् २००१ मा तामिलनाडुकी मुख्यमन्त्री जया ललिता जेल जाँदा उनका अनुयायी पन्निर सेल्वभले यसरी नै १६२ दिन मुख्यमन्त्री चलाएका थिए । नभन्दै जया ललिता मुख्यमन्त्री पदमा फर्किएकी थिइन् ।

यस्तालाई ‘डमी मुख्यमन्त्री’ पनि भनिन्छ । आतिशी स्वघोषित डमी मुख्यमन्त्री बन्न पुगेकी छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१ मंगलबार ००:००  ५ : १८ बजे