७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मिथिलाञ्चलमा जितिया पर्वको रौनक



जलेश्वर (महोत्तरी) ।
सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ।

श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा आज ओंगठन, असोज ८ गते मङ्गलबार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५:१५ बजे जितिया व्रत पारण उल्लेख रहेको कारण मिथिलाञ्चलमा आजदेखि जितिया व्रत सुरु भएको हो।

तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहा खा (नुहाएर खाने) विधिबाट सुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु मङ्गलबार बिहान ४ बजेदेखि मङ्गलबारको दिनभरि र रातभरि तथा बुधबार दिनभरि उपवास बस्नुपर्ने छ भने बुधबारकै दिन साँझ ५ः१५ बजे पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकले बताए।

व्रत (उपवास) बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन देवता र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रुपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन्।

त्यसैगरी, भोलि (मङ्गलबार) बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी पर्सि (बुधबार) साँझ ५:१५ बजे व्रत सम्पन्न गर्नेछन्।

प्रकाशित मिति : ७ आश्विन २०८१ सोमबार ००:००  १२ : ३७ बजे