६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

चीनकी एक गभर्नर १३ वर्ष जेल चलान, यस्ता छन् आरोप



काठमाडौं ।
चीनमा सुन्दरी गभर्नरको नामले प्रसिद्ध ग्वाइझू प्रान्तकी गभर्नर झोंग यांगलाई १३ वर्ष जेल सजाय सुनाइएको छ ।

उनीमाथि १ करोड १६ लाख युआनको जरिवाना पनि लगाइएको छ । ५२ वर्षीया झोंग यांग करिब ७१ करोड युआन घुस लिएको र ५८ जना सहकर्मीसँग शारीरिक सम्बन्ध राखेको आरोपमा दोषी ठहर भएकी हुन् ।

साउथ चाइना मर्निङ पोस्टकाअनुसार झोंग चीनको कम्युनिस्ट पार्टीबाट ग्वाइझूकी उपसचिव र गभर्नर भइसकेकी छिन् । उनी २२ वर्षको उमेरमा पार्टीमा आबद्द भएकी थिइन् । जनवरी २०२३ मा चीनको ग्वाइझू रेडियोले आफ्नो रिपोर्टमा झोंगसँग सम्बन्धित विवादहरूको उल्लेख गरेको थियो ।

उनीमाथि आफ्नो पदको दुरुपयोग गरी सरकारी लगानीको आडमा आफूले चाहेका कम्पनीहरूलाई ठूला ठेक्काहरू दिलाएको आरोप छ । झोंगले एक व्यवसायीलाई १।७ लाख वर्ग मिटरको जमिनमा हाइ–टेक औद्योगिक क्षेत्र बनाउने ठेक्का दिलाएकी थिइन् । यो व्यवसायीको झोंगसँग नजिकको सम्बन्ध थियो ।

यो सम्झौताबाट झोंगलाई पनि धेरै फाइदा भएको थियो । अप्रिल २०२३ मा ग्वाइझू प्रान्तको सुपरभिजन समितिले झोंगविरुद्ध जाँचको घोषणा गरेको थियो । यस क्रममा झोंगमाथि ५८ पुरुषसँग शारीरिक सम्बन्ध राखेको आरोप पनि लागेको थियो ।

उनी २०२३ मा गिरफ्तार भएपछि पार्टीबाट निकालिएको साउथ चाइना मर्निङ पोष्टलाई उद्धृत गर्दै दैनिक भास्करले लेखेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१ आइतबार ००:००  १ : ४७ बजे