६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

४० जना मिलेर स्याङ्जामा सामूहिक बंगुर पालन



स्याङ्जा ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गोक्रुङका स्थानीयले सामूहिक बङ्गुरपालन गर्दै आएका छन् । ०७७ मा २५ लाख रुपैयाँ लगानीमा गोक्रुङ सामूहिक कृषि फार्म खोलेर बङ्गुरपालन सुरु गरिएको थियो ।

स्थानीय रुकमाया रानाले विगतमा अज्ञात रोगले फार्मका करिब ५० वटा बंगुर मरेपछि लगानी डुब्ने डरले बंगुर पाल्न डराएको बताइन् । तर पछि सामूहिक बंगुर पालन सुरु गरेर आत्मनिर्भर बनेको उनको भनाइ छ ।

४० जना सेयर सदस्य रहेको फार्ममा हाल बीउ उत्पादन गर्न ४० वटा धराने बङ्गुरका पाठापाठी र माउ बङ्गुर रहेका छन् । स्थानीय युवालाई विदेश पलायन रोक्ने उद्देश्यसहित सामूहिक रूपमा बङ्गुरपालन गरिएको रानाले जानकारी दिइन् । ‘विदेश जान लाग्नुभएका श्रीमान्लाई गाउँमै रोकेकी छु । फार्मका बङ्गुर राम्रै भएका छन्’, उनले भनिन्, ‘बङ्गुर फार्म सामूहिक भए पनि फार्म प्रयोग गरेबापत हामीले वार्षिक चार हजार ५०० भाडा तिर्नुपर्छ । एक परिवारले पाँचवटासम्म माउ बङ्गुर राखेका छन् । पालिका र हेफरले उपचार, औषधि, तालिममा सहयोग गरेको छ ।’

रानाले बङ्गुर पाल्न सके बजारको समस्या नहुने बताइन् । ‘गाउँमा बङ्गुर काट्दा मासु खोसाखोस हुन्छ । पाल्न सके बङ्गुरले नै आत्मनिर्भर बनाउने प्रशस्त आधार छन्’, उनले भनिन् । कृषि र पशुपालनमा साढे ३ करोड बजेट कालीगण्डकी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालबाट सामूहिक बंगुर पालन गरिएको संस्थाका कालीगण्डकी प्रमुख दीपक विश्वकर्मा बताए ।

गाउँपालिका र हेफरको संयुक्त साझेदारीमा विसं २०७९ चैत १७ गते आयोजना सुरु भएको थियो । ‘हालसम्म एक सय २४ वटा साना खोर तथा बङ्गुर र बाख्राका तीन–तीनवटा नमूना खोर निर्माण गरेका छौँ । दुई सय ३० वटा बीउ बाख्रा र बीउका लागि एक सय ७० वटा बङ्गुरका पाठापाठी वितरण गरेका छौँ’, विश्वकर्माले भने ।

यसैगरी १२ वटा भैँसी र तीनवटा गाई खरिदमा ४० हजार अनुदान, नश्ल सुधारका लागि २९ वटा समूहमा बोका वितरण, २७ वटा भकारो निर्माण, साझेदार फार्म तथा व्यक्तिका लागि १५ वटा चापकटर र १० किलो काँटा वितरण, मिर्मीमा डेरी स्थापनाका लागि सात लाख रुपैयाँ अनुदान, बेल्टारीमा घाँस स्रोत केन्द्र स्थापना गरिएको उनले जानकारी दिए । रासस

प्रकाशित मिति : ६ आश्विन २०८१ आइतबार ००:००  ११ : ३८ बजे