९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

सुनवलमा बनेको पशु अस्पताल प्रयोगबिहिन



नवलपरासी ।

जिल्लाको सुनवल‐२ रजहवामा १ करोड ५१ लाखको लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा आउन सकेको छैन।

ठेकेदारले काम सम्पन्न गरेर नगरपालिका तथा वडा कार्यालयलाई दुई वर्षअघि नै हस्तान्तरण गरेको दुई वर्ष भइसकेको छ।

जनप्रतिनिधिहरूबीच केही प्राविधिक तथा व्यवस्थापकीय पक्षका बारेमा कुरा नमिलेपछि अस्पताल प्रयोगमा आउन नसकेको सुनवल‐२ का वडाध्यक्ष राजेन्द्र यादवले बताए।

उनले अस्पताल प्रयोगमा नआउँदा बनेकै संरचनासमेत बिग्रिन थालेको गुनासो गरे।

‘अस्पताल भवन प्रयोगमा नआउँदा यहाँ फलाम र भित्तामा लगाएको रङमा खिया लाग्न थालिसकेको छ । दिनप्रति दिन भवनको अवस्था बिग्रिन थालेको छ,’ उनले भने, ‘संघीय सरकार वडा कार्यालयको संयुक्त लगानीमा बनेको भवन प्रयोगमा नआउँदा कम्पाउन्डभित्र झारपात उम्रेर जङ्गल जस्तै बनेको छ।’

सुनवल नगरपालिकाकी अध्यक्ष विमला अर्यालले अस्पताल सञ्चालनका लागि थप कर्मचारीको आवश्यकता भएकाले त्यसको व्यवस्थापन हुननसक्दा केही समस्या रहेको बताए। उनले यहाँ देखिएका समस्या समाधानका लागि छलफल भइरहेकाले चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए। अस्पताल सञ्चालन नहुँदा यहाँका किसानले घरपालुवा जनावर बिरामी हुँदा उपचारका लागि समस्या भोग्नु परिरहेको छ।

प्रकाशित मिति : ५ आश्विन २०८१ शनिबार ००:००  १ : १२ बजे