३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिले धारणा राख्न नपाउने



काठमाण्डौ ।

काठमाण्डौमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिहरूले धारणा राख्न नपाउने भएका छन् ।

भेलाको कार्यतालिकाअनुसार सभापति लामिछानले दिउँसो साढे ४ बजे राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ । त्यसलगत्तै प्रतिवेदन अनुमोदन गरेर केही अभियान तथा महाधिवेशनको मिति र ठाउँ घोषणासहित भेला सक्ने कार्यतालिका छ । राजनीतिक विषयवस्तुमा यसअघि नै छलफल भइसकेकाले प्रतिवेदनमाथि बोल्ने कार्यसूची नराखिएको कार्यवाहक प्रवक्ता मनिष झाले बताउनुभयो ।

भेलामा हिजो पेश भएका साङ्गठनिक प्रस्ताव, सात वटा प्रदेशका प्रतिवेदन, आर्थिक प्रतिवेदन र अनुशासन आयोग प्रतिवेदनमाथि भने बिहान सामूहिक छलफल भइसकेको छ ।

केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा हिजो शुरू भएको हो । भेलामा केन्द्रीय समिति, निकाय, विभाग, प्रदेशका पार्टी संरचना, जिल्ला र पालिकास्तरीय समितिबाट झन्डै १५ सय जना प्रतिनिधि छन् ।

प्रकाशित मिति : २ आश्विन २०८१ बुधबार ००:००  ३ : ३८ बजे