२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

पाणिनी सहकारीको १६औं वार्षिक साधारण सभा सम्पन्न



काठमाण्डौ ।

पाणिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शेषनारायण पोखरेलको अध्यक्षतामा काठमाण्डौ, बत्तिसपुतलीमा साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका उपाध्यक्ष टोपलाल अधिकारीले संस्थागत मन्तव्य सहित सेयर सदस्य, प्रमुख अतिथि, विशेष अतिथि, अतिथि लगायत सम्मानित व्यक्तित्वहरूलाई स्वागत गरेका थिए ।

प्रतिनिधि सभा सदस्य एवम् संसदमा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति समेत रहेका ठाकुर प्रसाद गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संस्थाको बित्तिय अवस्था र बित्तिय अनुशासनका बारेमा चर्चा भएको थियो ।

प्रमुख अतिथि ठाकुर प्रसाद गैरेले हिजो आज पाँचवटा राष्ट्रिय समाचार शीर्षक प्रसारण हुँदा कम्तिमा चारवटा समाचार सहकारी संस्था सम्बन्धी हुने र ती चार समाचार मध्य तीनवटा समाचार खराब सहकारीका बारेमा हुने गरेको तीतो यथार्थका बाबजुद पाणिनि सहकारी जस्तो बित्तीय रूपमा सबल, आर्थिक अनुशासनका हिसाबले अब्बल र सामाजिक उत्तरदायित्वका हिसाबले अग्रणी संस्था हुनु र यस्तो संस्थाको साधारण सभामा प्रमुख अतिथि बन्न पाउँदा खुसी लागेको भन्दै पाणिनी साकोसको प्रशंसा गरेका थिए । साथै पाणिनी साकोस, पाणिनि तपोभूमि र पाणिनी ऋषिको महत्त्वलाई बढावा दिनका लागि म हरदम तपाईहरूको साथमा हुनेछु भन्दै प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

बिशेष अतिथिको रूपमा बोल्दै काठमाण्डौ बचत तथा ऋण सहकारी संघका अध्यक्ष दिपक पनेरुले संस्थाले आफ्नो आर्थिक अनुशासनलाई कायम राख्दै अझ उदाहरणीय बन्नु पर्ने शुभकामना दिए । त्यसैगरी धान्याञ्चल सहकारीका अध्यक्ष भबिश्वर घिमिरे, राष्ट्रिय सहकारी बैंक कलंकी शाखा प्रमुख कला थपलिया, व्यवसायी पोमनारायण अधिकारी लगायतका बक्ताले अतिथिका रूपमा संस्थालाई सुझाव र शुभकामना ब्यक्त गर्दै संस्थाको सदस्यमुखी स्वभावको प्रसंसा गरेका थिए ।

झण्डै सवा चौतीस करोडको सम्पत्ति सहितको यस पाणिनी साकोसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष शेषनारायण पोखरेलले संस्थालाई आगामी दिनमा अझ प्रभावकारी र सदस्यमुखी बनाउने र आर्थिक अनुशासनमा कत्ती पनि आँच आउन नदिइ सामाजिक उत्तरदायित्वमा पनि अग्रसर भैरहने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

विशेष गरी लुम्बिनी प्रदेशको अर्घाखाँची,पाल्पा , गुल्मी , रुपन्देही र कपिलवस्तु जिल्लाबाट काठमाण्डौ‌मा विभिन्न पेशा ब्यवसाय गरी बस्ने ब्यक्तिहरूको पहलमा आज भन्दा १६ वर्ष अघि सुरु भएको यो सहकारी राजधानी इतरबाट आएर खोलिएका विभिन्न सहकारीहरू मध्ये नमुना सहकारी मानिन्छ ।

जेष्ठ नागरिक सम्मान अन्तर्गत दोसल्ला र नगद सहित आमा बुबालाई सम्मान, विद्यार्थी सम्मान अन्तर्गत दस जोड दुई उत्तीर्ण छात्र छात्रा लाई सम्मान, उत्कृष्ट बचतकर्ता सम्मान, उत्कृष्ट ऋणी सम्मान, उत्कृष्ट कर्मचारी सम्मान लगायतका कार्यक्रम सहित साधारण सभाको खुल्ला सत्र सम्पन्न भएको थियो ।

बन्दसत्रमा संस्थाका अध्यक्षको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष कमल प्रसाद पोखरेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१को आयब्यय तथा आर्थिक वर्ष २०८१/०८२को बजेट सहितको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक ठाकुर गौतमद्वारा प्रस्तुत प्रतिवेदन, बाह्य लेखा परीक्षकद्वारा प्रस्तुत लेखा परीक्षण प्रतिवेदन लगायत दश बिषयहरू उपर छलफल गरी सर्वसम्मत रूपमा पारित गर्ने निर्णय गरेको थियो। साधारण सभाको सञ्चालन संस्थाका सचिव शुभाष चन्द्र पोख्रेलले गरेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८१ सोमबार ००:००  ८ : ३० बजे