२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले देखेको थिइनँः प्रधानमन्त्री ओली



काठमाडौँ ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई गणतान्त्रिक देश रहन नदिने प्रयास भइरहेको बताएका छन्।

नेकपा एमालेले शनिबार काठमाडौँमा आयोजना गरेको स्थानीय तहमा जनसंगठन सुदृढीकरण कार्यशाला गोष्ठीमा बोल्दै उनले नेपाललाई गणतान्त्रिक देश रहन नदिने र समृद्धिको बाटोमा अघि बढ्न नदिने प्रयासहरू भइरहेको बताएका हुन्।

उनले भने, ‘नेपाललाई एउटा गणतान्त्रिक देश रहन नदिने, नेपालमा शान्ति सुव्यवस्था, ल एण्ड अर्डर कायम रहन नदिने, नेपाललाई सुशासनको एउटा व्यवस्थित मार्ग समातेको देशको रुपमा अगाडि बढ्न नदिने प्रयासहरू भइरहेका छन्। र, नेपाललाई विकास र समृद्धि अगाडि बढ्नै नदिने प्रयासहरू भइरहेका छन्।

यसरी नेपाली जनताको जुन समृद्ध नेपालः सुखी नेपालीको जुन राष्ट्रिय आकांक्षा हो। त्यसलाई सफल हुनै नदिने भनेर कतिपय कोही जानेर होलान्, कोही नजानेर होलान्।’

उनले राजतन्त्रको पक्षमा यसरी मान्छे उफ्रिएको यसअघि आफूले नदेखेको अनुभूति पनि सुनाए।

उनले भने, ‘सामन्ती, निरंकुश, अधिनायकवादी राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले देखेको थिइनँ पहिले पहिले। राजतन्त्र नै हुँदाखेरी पनि केही केही पञ्चहरु जम्मा हुन्थे र कराउँथे।

तर, त्यो एउटा औपचारिक कराइ हुन्थ्यो। अहिले पदधारी कराइरहेका छैनन्। पहिला पञ्चायतका बेला राजतन्त्र हुँदा पदधारीहरु कराउँथे। अहिले पदधारी होइन। वर्तमानमा केही पाएकाहरू होइन कि आशाधारीहरु छन्।’

प्रधानमन्त्री ओलीले देशलाई अघि बढ्न नदिनेहरुबाट सजग भएर अघि बढ्नुपर्ने अवस्था रहेको पनि बताए।

प्रकाशित मिति : २९ भाद्र २०८१ शनिबार ००:००  २ : ४९ बजे