२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

हराएको पेन्गुइन दुई हप्तापछि फेला



एएफपी ।
जापानको समुद्रबाट हराएको पेन्गुइन दुई हप्तापछि फेला परेको छ। बन्दबारमा जन्मिएको र हुर्किएको पोथी केप पेन्गुइन पेन–चान सुरक्षित र स्वस्थ फेला परेपछि उसका रक्षकले ‘चमत्कार’ भएको बताएका छन्।

पेन पहिले कहिल्यै खुला समुद्रमा पौडिएको थिएन। तर अगस्ट २५ मा समुद्रमा पसेको र मध्य आइची क्षेत्रबाट हराएकोे थियो।

उक्त पेनगुइन हराएपछि उसको रक्षक रियोसुके इमाईले एउटा टोलीले तुरुन्तै त्यस क्षेत्रमा खोजी गर्न थालेको तर जापानभरी आएको आँधी र वर्षाले खोजीमा बाधा पु¥याएको बताए।

पेन–चानको पौडी खेल्ने र जङ्गलमा बाँच्ने कौशलको कमीलाई ध्यानमा राख्दै टोलीले पेन्गुइन धेरै टाढासम्म पुग्न वा एक हप्ताभन्दा बढी बाँच्न नसक्ने अनुमान गरेको थियो।

तर आश्चर्यजनक रूपमा सेप्टेम्बर ८ मा इमाईले उड्न नसक्ने चरा ३० माइल टाढाको समुद्री तटमा पानीमा खुसीसाथ पौडी खेलिरहेको देखिएको जानकारी प्राप्त भएपछि उसको उद्धार गरिएको थियो।

‘छ वर्षीया पेन–चानले आफै समातेर माछा र काँक्राहरू खाँदै आएको हुनुपर्छ। ऊ विश्रामका लागि विभिन्न ठाउँमा रोकेर त्यहाँ पुगेको होला, तर यो अझै पनि अविश्वसनीय छ,’ इमाईले भने। रासस

प्रकाशित मिति : २७ भाद्र २०८१ बिहिबार ००:००  ११ : ०३ बजे