३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कपिलवस्तुमा क्वारेन्टाइन चेकजाँचमा कडाई हुँदा सीमाका व्यापारीको निदहराम



मायादेवी अनलाइन, कृष्णनगर ।
भारतीय बजारबाट नेपाल भित्रने फलफूल तथा तरकारीजन्य कृषि उपजमाथि चेकजाँचमा कडाई गर्न थालिएपछि व्यापारीको निदहराम हुन थालेको छ ।

कपिलवस्तुको कृष्णनगर र सुठौली नाकामा भारतीय बजार हुँदै नेपाल भित्रने फलफूल तथा तरकारीजन्य कृषि उपजमाथि चेकजाँचलाई कडाई गर्न थालिएको छ ।

कृषिउपजमाथि सीमामा कडाई हुन थालेपछि बर्षौदेखि उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलभाड गर्दै आएका केही व्यापारीको निदहराम हुन पुगेको हो ।

यहाँका केही व्यापारीले विचौलियाको भूमिका निर्वाह गरी भारतबाट विषादीयुक्त तरकारी तथा फलफूल नेपालमा भित्त्राउँदै आएका थिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेनटाइन कार्यालय कृष्णनगरले पछिल्ला दिनमा सीमा नाकामा कडाई गर्दै आएको छ ।

कार्यालयका प्रमुख बुद्धिराम भट्टराईले भारतीय बजार हुँदै नेपाल भित्रने तरकारी तथा फलफूलजन्य कृषि उपजमाथि चेकजाँचमा कडाई गरिएको मायादेवी अनलाइनलाई बताए ।

आफूले कानून विपरित स्वदेश भित्रने फलफूल तथा तरकारीलाई कडाई गर्न थालेपछि कतिपय व्यापारी आफ्नो चरित्रहत्या गर्न उद्दत रहेको कार्यालय प्रमुख भट्टराईले गुनासो गरे ।

केही महिना अगाडि मात्र प्लान्ट क्वारेन्टाइन कार्यालयको चेकजाँच विनै तीन ट्रक आँप नेपाल भित्राइएको थियो ।

उक्त आँपलाई प्लान्ट क्वारेन्टाइनले कानून विपरित ल्याएको भन्दै जरिवाना तिराएको थियो ।

अवैध ढंगले नेपाल भित्राइएको आँपलाई कारबाही गरेपछि सीमावर्ती केही विचौलिया व्यापारीले भट्टराईमाथि रकम असुली गरेको आरोप लगाउन थालेका छन् ।

भट्टराईले क्वारेन्टाइन चेक बिना ल्याएको आँपलाई ठूलै दबाबका बीच कारबाही गर्न आट गरेका थिए ।

भारत हुँदै आउने तरकारी तथा फलफूलको क्वारेन्टाइन चेकजाँच प्लान्ट क्वारेनटाइन कार्यालयले हेर्दै आइरहेको छ ।

पछिल्लो समय भारतीय तरकारी तथा फलफूलमा अत्यधिक विषादी हाल्ने गरेको पाइएको छ । मानव स्वास्थ्यलाई नै प्रभाव पार्ने गरी हालिने विषादीयुक्त तरकारी तथा फलफूलको सीमामा चेकजाँच कडा हुन नसकेको सरोकारवालाले गुनासो गर्दै आइरहेका छन् ।

यो पनि,

कृष्णनगर भन्सारको गम्भीर लापरबाही, क्वारेन्टाइन चेकजाँच बिनै ३ वटा सवारी नेपाल छिराइयो

प्रकाशित मिति : २६ भाद्र २०८१ बुधबार ००:००  ३ : ४२ बजे