२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

संविधान दिवस दीपावलीसहित मनाउन लुम्बिनी प्रदेश सरकारको आह्वान



दाङ ।

लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१ लाई तीन दिनसम्म विविध कार्यक्रम गरी भव्य रुपमा मनाउने भएको छ । त्यसका लागि मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश मूल समारोह समिति गठन गरिएको छ । साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले संविधान दिवसमा आयोजना गरिने कार्यक्रमहरु स्वीकृत गरेको छ ।

आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म प्रदेश भित्र विभिन्न कार्यक्रम आयोजना गरिने छ । ती तीन दिन आम नागरिकलाई आ(आफ्नो घरमा दीपावली गर्न पनि प्रदेश सरकारले आह्वान गरेको छ ।

२ गते प्रदेशस्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने, स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गर्ने, प्रदेश सरकारी निकायका वेबसाइटमा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यरुपले मनाउने बारेमा सूचनाहरु सार्वजनिक गरिने छ ।

यसैगरी ‘संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धि र चुनौती’ विषयमा विज्ञसँग छलफल पनि गरिने छ । त्यसका लागि फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरसँग समन्वय गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१ बुधबार ००:००  ९ : ५४ बजे