२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

उपसभामुखलाई हटाउने सत्तापक्षको तयारी



काठमाण्डौ ।

उपसभामुख इन्दिरा राना मगरले ‘पदअनुकूल आचरण नगरेको’ भन्दै सत्तारूढ दलहरूले उहाँलाई हटाउने तयारी गरेका छन् । त्यसका लागि सत्तारूढ दलका सांसदहरूले हस्ताक्षर सङ्कलन गरेका छन् ।

उपसभामुखविरुद्ध हस्ताक्षर सङ्कलन भएको सूचना पाउनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेले हिजो बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।

लामिछानेले सत्तारुढ दलका सांसदबाट उपसभामुखलाई राजीनामा दिन दबाब दिएकोबारे प्रधानमन्त्रीको धारणा बुझ्न खोज्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले भने संसद्मा उठेको विषय त्यहीँ निराकरण हुने जवाफ दिनुभएको छ । उपसभामुखले सकभर राजीनामा दिएर मार्गप्रशस्त गराउने सत्तारुढ दलहरूको प्रयास रहेको बुझिएको छ । तर उपसभामुख भने राजीनामा दिने मनस्थितिमा हुनुहुन्न ।

उपसभामुखले मार्गप्रशस्त नगरेमा उहाँविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सत्तापक्षको तयारी छ । यसबारे थप रणनीति बनाउन कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ ।

उपसभामुखले पद अनुकूलको आचरण नगरेमा एक चौथाइ सदस्यले संसद प्रस्ताव दर्ता गर्न सक्ने र पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भएमा पदमुक्त हुने संवैधानिक व्यवस्था छ । संवैधानिक परिषदको अंकगणितलाई मध्यनजर गरेर सत्तापक्षले उपसभामुख रानामाथि निसाना साँधेको टिप्पणी भइरहेको छ ।

यसअघि उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरेर भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई लेखेको पत्र बाहिरिएको थियो । पत्र गएको साउन पहिलो हप्ता सार्वजनिक भएलगत्तै त्यसैबेला पनि संसदमा यो विषय उठेको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०८१ बुधबार ००:००  ९ : ४३ बजे