२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

निरन्तर ओरालोमा सेयर बजार



काठमाडौँ ।
पछिल्ला केही दिनमा सेयर बजार परिसूचक (नेप्से) लगातार ओरालो लागेको छ । आज (मंगलबार) नेप्सेमा १३ अंकको गिरावट आयो ।

सोमबार बजार ५५ अंकले घटेको थियो भने आइतबार २५ अंकले झरेको थियो ।

यो साताको तीन दिनमा मात्रै परिसूचक ६९ अंकले घटेको छ । आइतबार २७०१ बिन्दुमा रहेको बजार मंगलबार २६३२ अंकका ओर्लिएको छ ।

मंगलबार कारोबार रकम पनि घटेको छ । यसअघि १० अर्ब हाराहारी दैनिक कारोबार हुने गरेको थियो । मंगलबार ७ अर्ब २४ करोड ५५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार कुल ३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

मंगलबार व्यापार उपसमूहको सूचक ०.७९ प्रतिशतले बढेको छ । बाँकी सबै उपसमूहको सूचक घटेको छ ।

मंगलबार कारोबार भएकामध्ये १७० कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यस्थिर रह्यो भने ६७ कम्पनीको मूल्य बढेको छ ।

मंगलबार मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । कारोबार रकमका हिसाबले मंगलबार हाइड्राइलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी शीर्षमा रह्यो । यसको कुल २९ करोड ८१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । कारोबार बन्द हुँदा यसको सेयर मूल्य प्रतिकित्ता १७७ कायम भएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१ मंगलबार ००:००  ३ : २८ बजे