३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

भदौमा आलु बालीको बीउ रोप्न नार्कको सुझाव



काठमाडौँ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले मध्य पहाडमा भदौमा लगाउने आलुबालीका लागि बीउ रोप्न सुझाएको छ । कृषि बुलेटिन सार्वजनिक गर्दै नार्कले खुमल सेतो –३, खुमल रातो–४, कुफ्रिज्योती, डेजिरे, जनकदेव, खुमल उज्ज्वल, खुमल उपहार, खुमल विकासमध्ये उपलब्ध जातको स्वस्थ बीउ आलु रोप्न सुझाएको हो ।

यस्तै नार्कले बालीनालीमा रासायनिक विषादीको प्रयोग गर्दा सकेसम्म हरियो र नीलो लेबल भएको विषादी प्राविधिकको सल्लाह अनुसार प्रयोग गर्न भनेको छ । कडा घाम लागेको, धेरै हावा लागेको र पानी परिरहेका बेलामा विषादी नछर्कन समेत नार्कले सुझाएको छ । विषादी छर्कने बेलामा व्यक्तिगत सुरक्षा उपकरणहरू जस्तै– मास्क, पन्जा, चस्मा, बुट, एप्रोनको प्रयोग गर्न, विषादी छर्कँदाछर्कँदै अघि नबढ्न र पछि सर्दै आउन समेत नार्कले सुझाएको छ ।

यस्तो छ साताको कृषि बुलेटिन

– धान बालीमा मरुवा रोगको प्रकोप कम गर्न सिफारिस मात्राभन्दा बढी युरिया मल प्रयोग नगर्नुहोस् । यो रोग देखिएमा बीम १ ग्राम वा हेक्जाकोनाजोल २ एम।एल। प्रति लिटर पानीका दरले १०–१२ दिनको फरकमा बोटको सम्पूर्ण पातहरू भिज्नेगरि छर्केर उपचार गर्नुहोस् ।

– अम्बामा गुटी विधिबाट प्रसारण गर्न उपयुक्त समय भएकोले पानी नपरेको समय पारेर गुटी बाँध्नुहोस् ।

– सुन्ताला जात फलफूलको बोटमा क्यांकर रोगको व्यवस्थापनको लागि कपर अक्सिक्लोराईड ३ ग्राम र कासु वी (कासुगामाइसिन) १ ग्राम प्रति लिटर पानीमा मिसाई १५ दिनको फरकमा छर्नुहोस् ।

– आँपमा इनार्चिङ्ग विधिबाट कलमी गर्ने उपयुक्त समय भएकोले कलमी गर्नुहोस् र नर्सरीमा उच्च आर्द्रता ( ८०–९० प्रतिशत ) कायम गर्नुहोस् ।

– बेमौसमी बकुल्ला सिमी लगाउन सुरु गर्नुहोस् ।

– उखुको पातको फड्के किराको प्रकोप व्यवस्थापनको लागि पानी निकासको व्यवस्था मिलाउनुका साथै रोगी बोटको तल तलका खुकुला, पुराना सुकेका पातहरू हटाउनुहोस् । प्रकोप ज्यादा भएमा वनस्पतिजन्य विषादी डेरिसोम २५ इ.सी २ एमएलप्रति लिटर पानीमा मिसाई बोट भिज्नेगरि छर्कनुहोस् ।

प्रकाशित मिति : २५ भाद्र २०८१ मंगलबार ००:००  १० : ४० बजे