३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

सरकार र सहकारी पीडितबीच सम्झौता, धर्ना र रिले अनसन स्थगित



काठमाण्डौ ।

सरकार र सहकारी पीडितबीच सम्झौता भएको छ । सम्झौतासँगै १ सय ८ दिनदेखि रत्नपार्कमा चलिरहेको सहकारी पीडितको रिले अनसन तथा धर्ना स्थगित भएको छ । हिजो बेलुकी सरकार र सहकारी पीडितबीच सहकारी बचत अपचलनका विषयमा छानबिन समिति बनाउन सहमति भएको हो ।

पीडितको बचत फिर्ता र ऋण असुलीसम्बन्धी समस्याको पहिचान गर्न सहकारी विभागका उपरजिष्ट्रारको नेतृत्वमा ५ सदस्यसमिति गठन गर्ने सहमति भएको छ । समितिमा सहकारी मन्त्रालय, सहकारी महासङ्घ, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको प्रतिनिधि हुनेछन् ।

समितिले समस्यामा परेका सहकारी सङ्घसंस्थाका पीडितको बचत फिर्ता र ऋण असुलीलगायत विषयको पहिचान तथा समाधानमा आवश्यक तथ्याङ्क सङ्कलन र विश्लेषण गर्नेछ । यस्तै समस्याउन्मुख सहकारी सङ्घ संस्थाको निरीक्षण अनुगमन गरी एकीकृत र खण्डीकृत सबै विवरण सङ्कलन गर्नेछ ।

सङ्कलित तथ्याङ्क विश्लेषण गरी समितिले रायसहितको प्रतिवेदन विभागमा पेस गर्नेछ । समितिले निरीक्षण र अनुगमन गरेका सहकारी सङ्घ संस्थाको वित्तीय विश्लेषण गरी राम्रोसँग चलेका, समस्याउन्मुख र गम्भीर समस्यामा परेका सहकारीको वर्गीकरण गरी अफ्नो रायसहित आवश्यक कारबाहीका लागि सुझाव दिनेछ 

यसअघि दुई पटकसम्म मन्त्रालय र पीडितबीच भएको सहमति कार्यान्वयन गर्ने र हरेक महिनाको अन्तिम आइतवार समितिको कार्य प्रगतिका बारेमा बैठक बस्ने सहमति पनि भएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१ सोमबार ००:००  ८ : ५३ बजे